काठमाडौं : काठमाडौंको सुन्धाराको एक गेष्ट हाउसमा प्रहरीले गोली चलाउँदा एक भगौडा प्रहरी घाइते भएका छन्। सुन्धाराको लुम्बिनी पाहुना गेष्ट हाउस घरको कोठाभित्र गएर प्रहरीले भगौडा प्रहरी जवान छोटेलाल ठाकुरलाई गोली हानेको हो।
प्रहरीबाट एसएलआर राइफल सहित भागेका ठाकुर सुन्धारामा रहेको सूचनाको आधारमा पक्राउ गर्न गएको प्रहरीलाई ठाकुरले गोली चलाउन खोजेपछि जवाफी कारबाहीमा उनी घाइते भएका महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।
महाशाखाका प्रमुख एसएसपी सर्बेन्द्र खनालले पक्राउ गर्न गएका प्रहरीलाई पेस्तोल हान्न खोजेपछि गोली चलाएको जानकारी दिए। प्रहरीले होटलको कोठा नम्बर २ सय १ मा पेस्तोल बरामद गरेको छ।
त्यो पेस्तोल पनि प्रहरीकै हुन सक्ने र ठाकुरले लिएर भागेको हुन सक्ने खनालले बताए। यस विषयमा अनुसन्धान भइरहेको उनले बताए। घाइते भगौडा प्रहरीको वीर अस्पतालमा उपचार भइरहेको छ।