उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले आवश्यक परे नेपाली जनता र मुलुकको सुरक्षाकोलागि नेपाली सेनासहित सबै सुरक्षा निकाय परिचालन हुने बताउनु भएको छ । उहाँले मुलुकको भु–भाग र जनताको रक्षाकोलागि सरकार प्रतिबद्ध रहेको पनि प्रष्ट पार्नुभयो । शनिवार राजधानीमा आयोजित साक्षात्कारमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री रावलले जनता र जमिनको रक्षाकोलागि आवश्यक परे सबै सुरक्षा निकाय परिचालित हुने बताउनुभयो । उहाँले सुरक्षा निकाय मात्रै नभई आवश्यक परे जनतालाई पनि राज्यले खटाउन सक्ने संबैधानिक ब्यवस्था रहेको पनि प्रष्ट पार्नुभयो ।
उपप्रधानमन्त्री रावलले भारतसँग कुटनीतिक र अनौपचारिक रुपमा सरकारले संबाद जारी राखेको भन्दै सरकार भारतसँग सम्बन्ध सुधार्ने पक्षमा रहेको पनि स्पष्ट पार्नुभयो । उहाँले भारतले अत्यावश्कीय बस्तु रोक्दा जनता जनतावीच मनोमालिन्य बढेको दावी गर्दै भारत घुम्न जाँदा कुन नेताले के प्रतिबद्धता ब्यक्त गरे भन्ने कुरा राज्यको प्रतिबद्धतामा नपर्ने पनि प्रष्ट पार्नुभयो ।
उपप्रधानमन्त्री रावलले मधेसी मोर्चालाई बार्ताबाट समस्या समाधान गर्ने भए आन्दोलनको स्वरुप फेर्न आग्रह गर्दै जनता, राष्ट्र र लोकतन्त्रलाई आधार मानेर बार्तामा बस्ने हो भने अन्तिम निष्कर्षमा पुग्न धेरै समय नलाग्ने विश्वास ब्यक्त गर्नुभयो ।