सत्तारूढ दल नेकपा एमालेले भीम रावललाई उपप्रधानमन्त्री र विष्णु पौडेललाई अर्थ मन्त्री बनाउने निर्णय गरेको छ।
प्रधानमन्त्री केपी ओली निकट पार्टी उप-महासचिव पौडेल अर्थ मन्त्री र पूर्वप्रधानमन्त्री माधव नेपाल निकट पार्टी उपाध्यक्ष रावल उप-प्रधानमन्त्री बन्ने पक्का भएको एमाले उच्च स्रोतले सेतोपाटीलाई बतायो।
प्रधानमन्त्री ओली अहिले बिहान काठमाडौस्थित कुटनीतिक नियोगका प्रतिनिधिहरूसँग भेटघाटमा छन्। त्यो भेटघाटपछि माधव नेपाल र केपी ओली बसेर मन्त्रीहरूको अन्तिम टुंगो लगाउने स्रोतले बतायो। आज साँझ सम्ममा मन्त्रीमण्डल विस्तार हुनेमा एमाले नेताहरू सहमति भएका छन्।
उपप्रधानमन्त्री रावलले रक्षा र सञ्चार मध्ये एक मन्त्रालय पाउने भएका छन्। अन्य मन्त्रालय र मन्त्रीहरूको टुंगो लाग्न बाँकी छ।
एमालेका ८ मध्ये तीन जना मात्रै मन्त्री भएका छन्। आज मन्त्री र केही राज्य मन्त्री पनि बन्ने स्रोतले बतायो।