आश्विन २१, २०७२- गृह मन्त्रालयले बिहिबार बस्ने मन्त्रीपरिषदको बैठकमा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म (असाेज २६ देखि कात्तिक ९ गतेसम्म) सार्वजनिक बिदा दिने प्रस्ताव पेश गर्दैछ ।
मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार भारतले गरेको अघोषित नाकाबन्दीका कारण दैनिक जनजीवन कस्टकर बन्दै गइरहेको कारण छिट्टै सार्वजनिक बिदा दिने तयारी गरेको हो । ‘इन्धनको अभावले सबैलाई कार्यालय आउजाउ गर्न निकै समस्या हुन थालेको छ,’ उनले भने, ‘कतिपय विद्यालय बन्द भइसके । त्यसैले सार्वजनिक बिदा नै दिए केही सहज हुने भएकाले यस्तो प्रस्ताव गर्न लागेका हौं ।’
भारतले गरेको अघोषित नाकाबन्दीका कारण बजारमा इन्धनको अभाव भएका कारण निकै कम मात्रामा मात्रै सार्वजनिक यातायातका साधन चलेका छन । यस्तै, सरकारले नीजि सवारी साधनलाई इन्धन अभावका कारण तेल नदिने घोषणा गरि सकेको छ ।