काठमाडौं : विभिन्न राजनीतिक दल निकटका युवाको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले भारतको रवैयाप्रति आक्रोश व्यक्त गरेका छन्। उनले भने, ‘आपूर्ति व्यवस्थामा भारतले गरिरहेको असहयोग अन्तराष्ट्रिय कानुन र नेपालको अधिकार विपरित र नेपाली जनतालाई दु:ख दिने नियतको रहेको बताएका छन् ।’
नेपालका लागि अत्यावश्यक इन्धन रोकेर कुहिएका आलु तथा प्याज पठाउन नाकाबन्दी खुलाएको भन्दै झुक्याउनु अमानवीय कार्य भएको बताए। प्रधानमन्त्रीले देशभित्र राष्ट्रिय एकता कायम गर्न नसक्दा विदेशीले हेपेको गुनासो पनि गरेको ज्ञापनपत्र बुझाउने टोलीमा संलग्न एक युवा नेताले बताए।
अनेरास्ववियूका पूर्वअध्यक्ष ठाकुर गैरे र रामकुमारी झाँक्री, नेविसंघका पूर्वअध्यक्ष गुरु घिमिरे र प्रदीप पौडेल, अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष देवेन्द्र पराजुली र हिमाल शर्मा तथा क्रान्तिकारीका संयोजक रमेश मल्ललगायतको टोली बालुवाटार पुगेको थियो ।
युवा नेताहरुले नाकाबन्दी गरेर मुलुकलाई ठप्प पार्दा सरकार तथा दलहरु चुप लागेर बस्न नहुने भन्दै यसविरुद्ध संगठित आवाज उठाउनुपर्ने र यसलाई अन्तराष्ट्रियकरण गर्नुपर्ने सुझाव दिए।