काठमाडौँ-गृह मन्त्रालयले पेट्रोलियम पदार्थको व्यवस्थापनका लागि बिहीबारदेखि निजी सवारी साधन (रातो प्लेट)लाई पेट्रोलियम पदार्थ उपलब्ध गराउन नसक्ने जनाएको छ ।
गृह मन्त्रालय, भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालय, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालय, तीनवटै सुरक्षा निकाय र विद्युत् प्राधिकरणको सहभागिता रहेको बैठकले सबै निजी सवारी साधन, ढुवानीका साधन तथा विद्यालय र महाविद्यालयका बसलाई इन्धन उपलब्ध गराउन नसकिने निर्णय गरेको हो ।
बैठकपछि गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले आयल निगमसँग भएको इन्धनको मौज्दातलाई ध्यानमा राखेर त्यस्तो निर्णय लिनुपरेको जानकारी दिए। यो निर्णयमाथि तीन दिनपछि पुनर्विचार हुने बताइएको छ । सार्वजनिक यातायातका सवारी साधनलाई भने जोर/बिजोर प्रणालीका आधारमा पेट्रोलियम पदार्थ उपलब्ध गराइनेछ ।
आजदेखि विद्यालयले पेट्रोलियम पदार्थ नपाउने भएपछि देशभरका विद्यालय र विश्वविद्यालयका पठनपाठन प्रभावित हुने भएको छ । रासस