नेपाल आयल निगमले आजदेखि अन्तराष्ट्रिय उडानलाई हवाई इन्धन नदिने भएको छ । दैनिक नेपालमा उडान भर्ने १४ वटा देशका २६ विमानलाई आयल निगमले आज मध्यान्नदेखि इन्धन उपलब्ध गराउन नसक्ने जानकारी गराईसकेको छ । ती वायु सेवा कम्पनीलाई आयल निगमले नेपाल बाहिरबाटै इन्धन भरेर आउन भनेको छ । काठमाडौंमा तेल आपूर्ति सहज नभएसम्म अन्तर्राष्ट्रिय उडानहरुले भारतको लखनउ, दिल्ली, बंगलादेशलगायतका ठाउँबाट तेल भर्नेछन् ।
तेल भर्नका लागि अन्य स्थानमा विमान अवतरण गर्नु पर्नेछ जसलाई टेक्निकल ल्याण्डिङ भन्ने गरिन्छ । नेपालमा यस अघि २०४५ सालमा पनि भारतले नाकाबन्दी लगाउँदा यसरी अन्तराष्ट्रिय उडानहरुले टेक्निकल ल्याण्डिङ गर्नु परेको थियो । उक्त समय नेपाल वायु सेवा निगमको बोईङ ७३७ जहाजले बंगलादेशको ढाकाबाट इन्धन ल्याएर मुलुकभित्र आपूर्ति गरेको थियो ।
यसैबीच नेपाल आयल निगमले आज काठमाडौं उपत्यकाका डिपोहरुलाई तीन लाख लिटर इन्धन वितरण गर्ने जनाएको छ ।
निगमका अनुसार दिउँसोमात्रै तेल वितरण गरिनेछ । निगमले थानकोट डिपोमा रहेको मौज्दात तेल वाँड्न लागेको हो । निगमका प्रवक्ता दिपक बरालका अनुसार १ लाख लिटर पेट्रोल र दुई लाख लिटर डिजेल वितरण गर्न लागिएको हो ।