काठमाडौं: शारीरिक अभ्यास गर्न छोडी सबेरै इन्टरनेटमा व्यस्त हुने, रक्सी धेरै पिउने, जंकफुडलाई खानाकै रूपमा लिन थालेपछि नेपाली युवा धमाधम हृदयाघात (कोरोनरी हार्ट डिजिज) को सिकार बन्न थालेका छन् ।
चिकित्सकका अनुसार पछिल्लो पाँच/छ वर्षयता नेपाली युवामा अस्वाभाविक रूपमा हृदयाघात बढेको छ । यसलाई नियन्त्रण गर्न नसकिएमा आगामी १५ वर्षमा हृदयाघात भएर नेपालमा मर्नेहरूको संख्या ३५ प्रतिशत पुग्ने अनुमान चिकित्सकको छ ।
ज्यानमारा रोगका रूपमा चिनिएको हृदयाघात पहिले धनी र वृद्ध उमेरका मानिसमा देखापर्ने भनिएको भए पनि अहिले २० वर्षमै युवाहरूले ज्यान गुमाउन थालेको वीर अस्पताल, मुटुरोग विभागका प्रमुख एवं नेपाल हर्ट फाउन्डेसनका अध्यक्ष डा. प्रकाशराज रेग्मीले बताए ।
रेग्मीका अनुसार अस्वस्थकर खानपान र शारीरिक अभ्यासको कमीले सहरी क्षेत्रका युवाहरू सबैभन्दा धेरै हृदयाघातको सिकार हुन पुगेका छन् । ‘पहिले सबेरै शारीरिक अभ्यास गर्ने, घरको स्वस्थ खाना प्रयोग गर्ने, रक्सी पिउनु हुँदैन भन्ने सुझावलाई युवाले आत्मसात् गर्थे,’ रेग्मीले अन्नपूर्णसँग भने, ‘अब त्यस्तो अवस्था रहेन, बिहानै ओछ्यानमै मोबाइल, इन्टरनेट, ल्यापटप, कम्युटरमा व्यस्त हुन थालेका छन् युवाहरू, विभिन्न बहानामा अत्यधिक रक्सी पिउन थाले, जंकफुडको प्रयोग पनि धेरै भइरहेको छ, गरिबी, बेरोजगारी, सामाजिक अवस्था, लभ अफेयरलगायतको तनावले हृदयाघात निकै बढेको छ ।’
सरकारसँग युवामा हृदयाघातको अवस्थाबारे तथ्यांक नभए पनि सहिद गंगाल हृदयरोग केन्द्र, मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर, नर्भिक अस्पताल, ग्रान्डी अस्पताल, नेपाल हार्ट फाउन्डेसनलगायत मुटुरोग उपचार गर्ने अस्पतालहरूमा पुग्ने बिरामीमध्ये १० देखि १५ प्रतिशत युवाहरूलाई हृदयाघात भएको पाइएको छ ।
ती अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ र शल्यचिकित्सक हृदयाघातको समस्या युवामा बढ्दै जाँदा यसले ठूलो क्षति निम्त्याउन सक्ने बताउँछन् । सहिद गगांलाल हृदय केन्द्रका निर्देशक डा. जोतेन्द्र शर्माले पछिल्लो समय केन्द्रमा उपचारका लागि आउनेमध्ये आधाजति युवा हृदयाघात भएर ढिलो आइपुग्ने बताए ।
चिकित्सकका अनुसार पछिल्लो समय १७ देखि ४० वर्ष उमेर समूहका धेरैजसो मानिसमा अस्वस्थकर जीवनशैलीका कारण बिस्तारै मुटुका रक्तनली बन्द हुने र हृदयाघातको समस्या देखिने गरेको छ ।
ग्रान्डी अस्पतालका मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले मुटुको रक्तनली बन्द हुँदा एन्जिोप्लास्टिक गर्ने, औषधि खाने र बाइपास सर्जरीलगायत गर्नुपर्ने धेरै युवा आउन थालेको बताए ।
उनका अनुसार पाँच वर्षअघि महिनामा २०/२५ वटा यस्ता शल्यक्रिया हुने गरेकोमा अहिले महिनामा तीन सय जनाभन्दा बढीको यस्तो उपचार हुने गरेको छ । एकदुईपटक मात्र धूमपान गर्ने युवाहरूमा समेत हृदयाघातको समस्या देखिएको छ । जागिर, अध्ययन, विवाह, आर्थिक अभावलगायतको तनावमा बढीभन्दा बढी बस्ने युवाको संख्या बढ्न थालेको र उनीहरूमा हृदयाघातको समस्या बढेको उनले बताए ।
नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा. भारत रावतले युवाहरूमा हृदयाघातको समस्या देखिनुमा शारीरिक अभ्यासको कमी भएको बताए । हृदयाघातले महिलालाई पनि सिकार बनाउन थालेको छ । गत वर्षको तथ्यांकअनुसार गंगालाल हृदयरोग केन्द्रमा एक हजार एक सय ८८ जनाको हृदयाघातको उपचार गरिएको थियो । तीमध्ये २७ प्रतिशत महिला थिए ।
महिलामा हृदयाघातको समस्या बढ्नु मुख्य कारण मोटोपना, महिनावारी सुकेपछि सुरक्षात्मक हर्मोनको कमी हुनु र शारीरिक अभ्यासको निष्क्रियतालगायत रहेको चिकित्सक बताउँछन् । विश्व स्वास्थ्य संगठनले हालै गरेको एक अध्ययनअनुसार पनि नेपालजस्ता मुलुकमा युवामा हृदयाघात बढ्नु चुनौतीपूर्ण छ ।
सहरी क्षेत्रका कुल मुटुरोगीमध्ये १७ देखि ४० वर्ष उमेर समुहका युवाको संख्या १५ प्रतिशत रहेको चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार मुुटुको रक्तनली विभिन्न कारणले बोसो जमेर (कोलेस्टेरोल) बन्द हुन पुग्दा शरीरमा रगतको प्रवाह ठप्प भई हृदयाघातको समस्या देखिने रोग हो ।
नर्भिक अस्पतालद्वारा विशेष कार्यक्रम
विश्व मुटुरोग दिवसका अवसरमा नर्भिक इन्टरनेसनल हस्पिटल र नेपाल हार्ट फाउन्डेसनले शनिबार छुट्टाछुट्टै जनचेतनामूलक कार्यक्रम आयोजना गरेका छन् । नर्भिक अस्पतालमा परिसरमा ‘स्वस्थ मुटुको साधन: सर्वत्र, सबैका लागि’ भन्ने नाराका साथ आयोजित एक विशेष कार्यक्रममा मुटुरोगको उपचार र यसको शल्यक्रियामा संलग्न विभिन्न चिकित्सकले मुटुरोगबाट बच्ने विभिन्न उपायबारे जानकारी गराए ।
चिकित्सक, नर्स, बिरामी, रोगबाट मुक्त भएकाहरू र उनीहरूका आफन्तलगायत करिब दुई सयजनाको सहभागिता रहेको कार्यक्रममा मानसिक तनाव, अस्वस्थकर खाना, शारीरिक अभ्यासको कमीलगायतले कसरी मुटुरोग निम्त्याउँछ भन्नेबारे स्पष्ट पारे ।
कार्यक्रममा पत्रकारिताका माध्यमबाट मुटुरोगको रोकथाम र नियन्त्रणका लागि जनचेतना फैलाएको भन्दै अन्नपूर्ण पोस्ट्की पत्रकार दीपा दाहाल, कान्तिपुर दैनिकका अतुल मि श्र र एभिन्युज टेलिभिजनकी कल्पना आचार्यलाई सम्मान गरिएको छ ।
नर्भिकले नेपाली हृदयरोग नियन्त्रणका लागि योगदान पुर्याएको भन्दै डा. मनबहादुर केसी, डा. प्रकाशराज रेग्मी,डा.राजेन्द्र कोजू र अभिनव वैज्ञलाई सम्मान गरेको छ । शनिबार नै नेपाल हार्ट फाउन्डेसनमा आयोजित एक कार्यक्रममा स्वस्थ मुटुका लागि मुटुमैत्री वातावरणको निर्माण गरौं भन्ने नाराका साथ विश्व मुटु दिवस मनाइएको छ ।