काठमाडौँ- रत्नपार्कभित्र अवलोकन गर्ने अवलोकनर्ताले असोज अन्तिम सातासम्म निःशुल्क इन्टरनेटको सुविधा प्राप्त गर्न सक्नेछन्।
रत्नपार्क तथा रानीपोखरी एकाइका सहायक प्रमुख उमेश भण्डारीका अनुसार रत्नपार्कलाई थप व्यवस्थित गरिएसँगै अवलोकनकर्ता लामो समयसम्म पनि पार्कमा आएर बिताउने हुँदा इन्टरनेटको व्यवस्था गर्न लागिएको छ। एक वर्षसम्म बन्द रहेर पुनः निर्माणपछि सञ्चालनमा आएको उक्त पार्कमा दैनिक करिब एक हजारसम्म सर्वसाधारण आउने गर्दछन् । इन्टरनेटको सुविधापछि पार्क अवलोकनकर्ताको थप आकर्षणको केन्द्र बन्ने एकाइको अपेक्षा रहेको छ।
एकाइको अनुसार इन्टरनेटसँगै अवलोकनकर्ताले खाजा घर र व्यवस्थित किसिमको शौचालयको समेत माग गरेका छन्। यस पार्कको पुनःनिर्माणपछि सर्वसाधारणका लागि रु २५ र विद्यार्थीका लागि रु १५ शुल्क लिएर प्रवेश दिने गरिएको छ । रासस