विराटनगर, भदौ ३१। नेकपा–माओवादीका केन्द्रीय सचिव देवप्रसाद गुरुङले जारी हुन लागेको संविधान राष्ट्रघाती भएको बताएकाछन ।
नेकपा–माओवादीको आयोजनामा विहिवार विराटनगरमा आयोजित संकटग्रस्त राष्ट्रिय राजनिति र अग्रगामी निकासको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले देशी विदेशी शक्तिको इशारामा बनाएको संविधानले जनताका हक अधिकार, पहिचान दिलाउने भन्दा राष्ट्रघात गर्ने दावी गरेका छन् ।
नेता गुरुङले अहिले जारी हुन लागेको संविधान अन्तरीम संविधान भन्दापनि पक्षगामी र प्रतिगामी भएकाले आफुहरु त्यसलाई कुनै हालतमा स्विकार नगर्ने बताए ।
कार्यक्रममा बोल्दै संघिय समाजवादी फोरमका केन्द्रीय सदस्य तथा पूर्व सभासद् जयराम यादवले कांग्रेस एमालेले संविधान जारी हुने दिन दिपावली गरेर स्वागत गर्ने भनेपनि आफुहरु त्यसदिनलाई कालो दिनका रुपमा मनाउने बताए । राज्यले आफुहरुलाई बेवास्ता गरेका कारण ४ गते देखि आन्दोलनको स्वरुप परिवर्तन गरेर सशक्त ढंगले अगाडि बढ्ने तयारी भइरहेको उनले जानकारी दिए ।
कार्यक्रममा सभाषद् पवनकुमार सारडा, इन्सेक क्षेत्रीय संयोजक सोमराज थापा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गणेश लम्साल लगायतले सबैको हक अधिकार सुनिश्चित हुनेगरि र आन्दोलनरत दलहरुसंग वार्ता छलफलबाट समस्याको समाधान गरेर सबैको सहमतीमा संविधान ल्याउन सकेको भए दिगो हुनेमा विश्वास ब्यक्त गरेका थिए ।