नेपालको संविधान २०७० बुधबार दुई तिहाई बहुमतद्वारा पारित भएको छ।
संविधानसभामा हाल कायम रहेको ५९८ सदस्य मध्ये ५०७ सदस्यले नेपालको संविधानको पक्षमा र २५ जनाले विपक्षमा मतदान गरेका थिए।
राजसंस्था, प्रत्यक्ष कार्यकारी र हिन्दु राष्ट्रका बारेमा फरक मत राख्दै आएको राप्रपा नेपालले विपक्षमा मतदान गरेको छ।
आफ्नो प्रस्ताव संविधानसभाबाट अस्वीकृत भएपछि राप्रपा नेपालले विपक्षमा मतदान गरेको हो।
संविधानसभाध्यक्षले प्रक्रिया अनुसार सुनाएको अन्तिम मत परिणाम अनुसार पक्षमा ५०७ मत र विपक्षीमा २५ रहेको बताएका छन्।
अन्तरिम संविधान २०६३ को धारा ७० र संविधानसभा नियमावली २०७० अनुसार गरेको मत विभाजनमा संविधानसभाको कुन सदस्य संख्याको दुई तिहाई बहुमत हुनुपर्ने प्रावधान छ।
सोही अनसार उक्त प्रस्तावको पक्षमा ५०७ मत परेको हुनाले यो संविधानको विधेयक दुई तिहाइ बहुमतले पारित गरेको हो।
संविधान पारित भएपछि संविधानसभामा उपस्थित सभासदहरूले लामो समयसम्म ताली बजाएका थिए।
यसरी पारित भएको संविधान आगामी असोज ३ गते बस्ने संविधान सभाको अन्तिम बैठकमार्फत राष्ट्रपतिले सार्वजनिक गरि लागू भएको घोषणा गर्नेछन्।
यो बीचमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराई पदेन अध्यक्ष रहने आनुसंगिक समितिले पारित भएका धाराहरुको क्रम मिलाउने काम गर्नेछ।
सो समितिमा कार्यव्यवस्था परामर्श समितिले तोकेका चार जना सदस्य रहनेछ। समितिले संविधानलाई क्रम मिलाएर अन्तिम रुप दिएपछि नेपाली कागजमा पाँच प्रति छाप्नेछ। अनुसांगीक समितिले पारित भएको विधेयकमा आवश्यक भाषा सुद्धा सुद्धी र धाराहरूको क्रम मिलाउने साथै संविधान पारित भएको प्रतिलिपिमा सभाध्यक्ष र सभासदहरूको हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।
त्यसपछि असोज १ गते शुक्रबार बिहान ९ बजेदेखि ३ बजेसम्म संविधानसभा भवनको ल्होत्से हल संविधानको सबै ५ प्रतिमा सभासदहरुले हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ। सबै सभासदको हस्ताक्षर सकिएपछि संविधान सभा अध्यक्ष सुवास नेम्वाङले प्रमाणिकरण गर्नेछन्। त्यसपछि असोज ३ गते साँझ ५ बजे हुने विशेष समारोहका बिच राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी गर्नेछन्।
संविधान जारी गर्नका निम्ति अन्तिम संविधानसभा बैठकमा राष्ट्रपतिको स्वागतका लागि भवन सजिसजाउ गर्ने कार्यक्रम पनि रहेको छ।
फोरम लोकतान्त्रिक मधेसी जनअधिकार फोरम लोकतान्त्रिक संघीय समाजवादी फोरम सद्भावना र तमलोपा लगायतका मधेसी दलहरू प्रक्रियाको विरोध जनाउँदै संविधान सभाबाट बाहिरिएका छन्।
१० दलका ५६ र एक स्वतन्त्र सभासदसहित ५७ जना संविधान सभा बाहिर रहेपनि ९१ प्रतिशत सभासद मतदान प्रक्रियामा सहभागी भएका थिए।
स्रोत : सेतोपाटि