संविधानको विधेयकमा आएका संशोधन प्रस्तावमाथि संविधानसभामा भोलिदेखि छलफल हुने भएपछि दलहरु आज आन्तरिक तयारीमा जुटेका छन् । सभास्हरुले पेश गरेको विधेयक मस्यौदाको संशोधन प्रस्तावमा भोलिदेखि छलफल हुने भएको हो । दलहरुले छलफलमा के कस्तो संशोधन प्रस्ताव राख्ने र संविधानका विवादित विषयमा केकस्तो लचकता अपनाउने भन्ने विषयमा आन्तरिक तयारीमा लागेका हुन् ।
संविधानसभाले असोजको ४ गतेसम्म संविधान जारी गर्ने गरी भोलिदेखि संविधानसभामा छलफल अघि बढाउने भएको छ । भोलि विहान ११ बजे सुरु हुने बैठक संविधान जारी नभएसम्म हरेक दिन वस्ने र विधयेकमाथि सभाषद्हरुले धारणा राख्ने क्रम जारी रहनेछ । संविधानको विधेयकमा परेका संशोधन प्रस्तावहरु सभाध्यक्षले दफावार छलफलका लागि संविधानसभामा पेश गर्ने र त्यसमाथि सभासदहरुले राय राख्ने कार्यतालिका बनाइएको छ ।
संविधानसभा बैठकमा अव प्रत्येक सभाषद्लाई बोल्नका लागि ७ मिनेटको समय दिने तयारी गरिएको संसद सचिवालयले जनाएको छ । संसोधन प्रस्तावका विषयमा बोल्ने सभाषद्हरुको जिज्ञासा तथा प्रश्नको उत्तर मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले दिनुहुनेछ ।
सभासद्को बोल्ने क्रमसकिएपछि संविधानका धारा र उपधाराहरु ध्वनिमतका आधारमा पास गरिनेछ ।
संविधानसभामा प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत माओवादीको दुई तिहाई मत रहेकाले उनीहरुले प्रस्ताव गरेको संशोधन जस्ताको तस्तै ध्वनी मतले पास हुने लगभग पक्का छ ।
बोल्ने क्रम र संविधानका धारा उपधाराहरु पास गर्ने काम सकिएपछि सम्पूर्ण सभासद्ले हस्ताक्षर गरी सभाध्यक्ष सुवास नेम्वाङले प्रमाणिकरण गरेपछि राष्ट्रपति डा. रामवरण यादवले संविधान घोषणा गर्नु हुनेछ ।
यसैबीच, मन्त्रीपरिषद् बैठक आज बस्ने भएको छ । विभिन्न मन्त्रालयका मन्त्रालयगत एजेण्डा तथा समसामयिक विषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंह दरबारमा अपरान्ह्न ४ बजे बस्ने बैठकमा अन्य समसामयिक विषयमा समेत छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।