प्रधानमन्त्री सुशील कोइराला र एकीकृत माओवादी अध्यक्ष पुष्कमल दाहालबीच अहिले छलफल जारी रहेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहिबेर अघिदेखि सुरु भएको बैठकमा देशको समसामयिक अवस्था, संविधान निर्माण लगायतका विषयमा छलफल सुरु भएको छ ।
यसका साथै बैठकमा तराईका जिल्लाहरुमा जारी संकटको समाधान कसरी गर्ने भन्ने विषयमा पनि छलफल हुने भएको छ । प्रमुख दलहरु संविधान निर्माणमा जुटे पनि केहि असन्तुष्ट दलहरुको नेतृत्वमा तराईका जिल्लामा जारी आन्दोलनले हिंसात्मक रुप लिएपछि त्यसलाई कसरी साम्य पार्ने भन्ने रणनीति तय गर्न बैठक बसेको बुझिएको छ ।
संविधानमा अहिले सभाषदहरुले संशोधनको प्रस्ताव पेश गर्ने कार्य जारी रहेको अवस्थामा यहि भदौ मसान्तसम्म संविधान जारी गर्नका लागि के कस्ता लचकता अपनाएर तराईमा जारी आन्दोलनलाई साम्य पार्न सकिन्छ, र संघर्षरत दलका नेताहरुलाई कसरी वार्ताको टेबुलमा ल्याउन सकिन्छ भन्नेबारेसमेत बैठकमा छलफल हुन सक्ने प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनु भयो ।
यसैबीच, आन्दोलनरत मधेसी मोर्चा र थारु समुदायका मागमा विषयमा छलफल गर्न प्रमुख दलहरुको बैठक आज बस्दैछ । दिउँसो बस्ने बैठकमा प्रधानमन्त्री सुशील कोइरालासँग भएको छलफल, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटवार्ताका आधारमा छलफल हुनेछ ।
व्यवस्थापिका संसद बैठक
व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । भूकम्प लगायत विभिन्न विधेयकमाथि छलफल गर्न बिहान ११ बजे संसद बैठक बस्न लागेको हो । यसअघि छलफलका क्रममा रहेको भूकम्प सम्बन्धि विधेयकमा छलफल हुनेछ ।
भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण सम्बन्धि विधेयक संसदमा पेश भइसकेको छ । त्यस्तै भूमि सुधार सम्बन्धि विधेयक र केही नेपाल ऐन संसोधन र केही नेपाल ऐन खारेज सम्बन्धि विधेयकका विषयमा पनि आज छलफल हुने संसद सचिवालयले जनाएको छ ।