प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ ।
पार्टीको आगामी १३औँ महाधिवेशन निर्धारित समयमा गर्न नसकिने भएपछि महाधिवेशनका बारेमा नयाँ निर्णय गर्न केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।
यही भदौ १७ गतेदेखि गाउँ, नगर, वडा अधिवेशन तोकिएको भएपनि गर्न नभ्याईएकाले महाधिवेशन सार्नु पर्ने वाध्यता काँग्रेसलाई परेको छ ।
त्यसैगरी आगामी असोज २ देखि ५ गतेसम्म गर्ने निर्णय भएको काँग्रेसको १३ औँ महाधिवेशन पनि अन्यौलमा परेको छ । कांग्रेसले अहिले घोषित मिति सम्ममा महाधिवेशन गर्न सकेन भने अहिलेको संविधान अनुसार पार्टीको वैधानिकता समाप्त हुनेछ । कांग्रेसको १२ औं महाधिवेशन भएको आगामी असोज पहिलो साता पाँच वर्ष पूरा हुँदैछ ।
पार्टीका शिर्ष नेता तथा सभासद्हरु संविधान लेखन प्रक्रियामा व्यस्त रहेका कारण महाधिवेशन तर्फ लाग्न नभ्याएको नेताहरुले बताउदै आएका छन् ।
जटिल राजनीतिक अवस्थामा पार्टीको अधिवेशन छ महिनापछि सार्न सकिने व्यवस्था गर्न अन्तरिम संविधान संशोधनका लागि अन्य प्रमुख दलहरुलाई आग्रह गर्ने तयारी गरेको छ । काँग्रेसको संकट समाधानका लागि अन्य दलहरु पनि सकारात्मक रहेकाले अन्तरिम संविधान संशोधन मार्फत काँग्रेसको महाविधेशन थप ६ महिना पछाडी सर्ने संभावना देखिएको छ ।
बैठकमा महाधिवेशन वाहेक संविधान निर्माण, संविधान विद्ययकमा संशोधन प्रस्ताव, सीमाङ्कनको विषयलाई लिएर तराई–मधेसमा भइरहेको आन्दोलन, सभासद् अमरेशकुमार सिंहको स्पष्टिकरण लगायतका विषयमा छलफल हुने काँग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
बैठक बिहान ८ बजे संविधानसभा भवनको ल्होत्से हलमा बस्ने पार्टी कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीले जानकारी दिनुभयो ।