प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनरत मधेशवादी दल र थारु कल्याणकारी सभा तथा थरुहट÷थारुवान संयुक्त सङ्घर्ष समितिलाई पुनःवार्ताको लागि आह्वान गर्नुभएको छ ।
प्रधानमन्त्री कोइरालाले आन्दोलनरत दलहरुको तर्फबाट हिजो पठाइएको पत्रको जवाफ दिँदै हिजो नै उनीहरुलाई फेरी वार्ताका लागि आह्वान गर्नु भएको हो ।
उहाँले आन्दोलनरत सङ्घीय समाजवादी फोरम, तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र तराई–मधेस सद्भावना पार्टी नेपालका साथै थारु कल्याणकारी सभा तथा थरुहट÷थारुवान संयुक्त सङ्घर्ष समितिलाई हिजो वेलुका जवाफी पत्र पठाउनु भएको प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री कोइरालाले ती दल तथा सङ्घर्ष समितिलाई पठाउनुभएको पत्रमा सम्बन्धित पक्षबाट उठाइएका विगतका सम्झौता तथा सहमतिलाई कार्यान्वयन गर्ने विषयलाई सरकारले यसअघि गरेका निर्णय र प्रस्तावित संविधानको विधेयकमा समेटिएका विषयलाई एकीकृत गरी वार्तामा बसेर छलफल गर्न सकिने बताउनुभएको छ ।
पत्रमा प्रधानमन्त्रीले वार्ता र सहमतिमा पुग्ने प्रयत्नसँगै तराई–मधेसमा हिंसा, जनधनको नोक्सानी, तोडफोड र त्रासको वातावरणमा सुधार हुने र त्यसपछि सेना र सुरक्षा निकाय सामान्य जिम्मेवारीमा फर्कने पनि उल्लेख गर्नुभएको छ । उहाँले घाइतेको उपचार र क्षतिपूर्तिको विषय स्वभाविक रुपमै राज्यको जिम्मेवारीभित्र पर्ने बताउनुभएको छ ।