विराटनगर, भदौ १३ । सुनसरी र झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको नरसिंह –१ मा शनिवार राती दुई वटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
पश्चिमतर्फ जाँदै गरेको बा ४५ प ३०४० नंम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको को ६ प ३९६४ नंम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा गम्भिर घाइते भएका बा ४५ प ३०४० नंम्बरको मोटरसाइकल चालक सप्तरी भारदह –३ घर भई सिमा सुरक्षा कार्यालय राजविराजमा कार्यरत सशस्त्र प्रहरी जवान धिरेन्द्र झाको उपचारका क्रममा इनरुवा अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा सोही मोटरसाइकल पछाडी सवार मोरङ सुन्दरदुलारी नगरपालीका –७ गछिया घर भएका सशस्त्र प्रहरी हवल्दार श्याम लम्साल र अर्को मोटरसाइकलमा सवार सुनसरी इनरुवा नगरपालीका –१ का ४० वर्षिय दयानन्द पोद्दार र अर्जुन साह घाइते भएका छन् । उनिहरुको विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान र गोल्डेन अस्पताल बिराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै कोशी राजमार्ग अन्तर्गत सुनसरीको धरान उपमहानगरपालिका –८ मा कारको ठक्करबाट मोटरसाइकल चालक धनकुटा नगरपालिका ६ बस्ने ३२ वर्षिय सुनिल साहको मृत्यु भएको छ भने पछाडी सवार उनकी श्रीमती २८ वर्षिया बबिता साह र ७ वर्षिय छोरा गम्भिर घाइते भएका छन् । उनिहरुको भारतको सिलिगुढीमा उपचार भइरहेको जनाइएको छ ।
इटहरीबाट धरानतर्फ जाँदै गरेको बा ८ च ८५७५ नंम्बरको कारले विपरित दिशाबाट आउँदै गरेको को ९ प ५७६८ नंम्बरको मोटरसाइकललाई ठक्कर दिंदा दुर्घटना भएको हो । त्यसैगरी कोशी राजमार्ग अन्तर्गत सुनसरीको धरान उपमहानगरपालिका –१३ मा मे १ च ३१२६ नंम्बरको पिकअप भ्यानले को ९ प ८४४ नंम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक सुनसरी इटहरी उपमहानगरपालिका –२४ का २० वर्षिय अविषेक पौडेल गम्भिर घाइते भएका छन् ।