नयाँ संविधानको मस्यौदा तथा संघीय प्रदेशहरुको प्रस्ताव प्रति असन्तुष्टी जनाउदै आन्दोलनमा उत्रिएकाहरुसंग प्रधानमन्त्री सुशील कोईरालाले वार्ता गर्नु हुने भएको छ । प्रधानमन्त्री कोईरालाको नेतृत्वमा अन्य प्रमुख दलका नेताहरु सम्मीलित टोलीले आन्दोलनरत पक्षसंग वार्ता गर्ने भएको हो ।
सरकारी उच्च टोलीले सवै भन्दा पहिला आज दलितहरुको टोलीसंग वार्ता गर्ने तयारी गरेको छ ।
आफुहरुको टोली वार्ताका लागि प्रधानमन्त्री निवास वालुवाटार पुगेको सभासद् मानवहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार वार्ता टोलीमा दलित राजनितिक नेताहरु सम्मीलित हुनुहुन्छ । हरेक निकायमा दलितहरुको प्रतिनिधित्व हुनु पर्ने, दलित आयोगलाई अर्धन्यायीक अधिकार दिनुपर्ने लगायतका माग राख्दै दलितहरुले लामो समय देखि आन्दोलन गर्दै आईरहेका छन् । प्रधानमन्त्रीले आजै राष्ट्रिय मु्श्लीम संघर्ष समिति, आन्दोलनकारी महिला समुह लगायतसंग पनि छुट्टा छुट्टै वार्ता गर्नु हुने भएको छ । वार्ताका लागि उनीहरु तयार भईसकेको प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ ।
यसैबिच—थारु प्रदेशको माग गर्दै आन्दोलनमा रहेको थरु—थारुवान संयुक्त संघर्ष समितीले सरकारसंग वार्ताको तयारी गरेको छ ।
आन्दोलनलाई त्यागेर बार्तामा आउन आग्रह गर्दै सरकारका तर्फबाट प्रधानमन्त्रीले पत्र पठाएपछि समिति बार्तामा बस्न तयार भएको हो ।
सर्तसहित पत्रको जवाफ पठाउने र सरकार आफ्ना सर्त मान्न तयारभए आजै पहिलो चरणको बार्तामा बस्न तयार रहेको सभासद् अमनलाल मोदीले जानकारी दिनुभयो।
त्यसैगरी, संयुक्त लोकतान्तिक मधेसी मोर्चाले आज सरकारलाई आफ्नो जवाफ पठाउने भएको छ । विभिन्न माग राख्दै आन्दोलनमा रहेको मोर्चाले सरकारको तर्फबाट प्रधानमन्त्री कोइरालाले बार्ताका लागि आह्वान गर्दै पत्रपठाएपछि आज मोर्चाले जवाफ पठाउने निर्णय गरेको हो ।
मोर्चाले सरकारको पत्रको आधारमा बैठक बसी आफ्ना विभिन्न सर्त राख्दै पत्रपठाउने तयारी गरेको तराई मदेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले जानकारी दिनुभयो ।
यादवका अनुसार सरकारले आफ्ना सर्तहरु मान्न तयार भए बार्तामा बस्ने जानकारी दिनुभयो । दुई दिन अघि प्रधानमन्त्री कोइरालाले तराईमा केन्द्रीतदल तथा विभिन्न माग राख्दै आन्दोलित समुदाय सबैलाई संवादमा आउन पत्र मार्फत आह्वान गर्नुभएको थियो । सरकारले आन्दोलन पक्षलाई आज सम्ममा कुनैपनि समयमा छलफलका लागि आउन सक्ने जनाएको छ