आज हिन्दू धर्मावलम्बीहरुले देशभर जनैपूर्णिमा अर्थात ऋषितर्पणी पर्व मनाउँदैछन्। जनै लगाउनेहरुले ऋषिको सम्झना गर्दै जलाशय तथा धारामा गई माटो, गोबर, कुश, खरानी, अपमार्गले स्नान गरी विशेष मन्त्रबाट मन्त्रिएको जनै लगाउने गर्छन्।
यसैदिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्राध्यापक डा.रामचन्द्र गौतमलको भनाई छ ।
शास्त्रीय मान्यताअनुसार विशेषगरी तागाधारी (ब्राह्मण, क्षेत्री, वैश्य) वर्गले बर्षदिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे (समाप्ति)को दिनका रुपमा जनै पूर्णिमालाई लिइएको पाईन्छ । तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनैपूर्णिमालाई ऋषि तर्पणी पनि भन्ने गरिएको छ ।
आजदिन पाटनको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको देवीघाटलगायतका धार्मिक क्षेत्रमा ठूलो मेलासमेत लाग्ने गर्दछ । तराई क्षेत्रमा दिदी बहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन रहेकामा पछिल्ला वर्षमा पहाडी क्षेत्रमा पनि राखी बाँध्न थालिएको छ ।
नेवार समुदाय भने यस पर्वलाई गुन्हु पुन्हीको रुपमा मनाउँछन् ।
जनैपूर्णिमाका दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ । खेतीपातीका क्रमममा थकित शरीरमा शक्ति प्रदान गर्न टुसा आएको पौष्टिक तत्वयुक्त क्वाँटी खाइनुले यसलाई प्रकृतिसम्मत पर्वका रुपमा पनि लिइन्छ ।