संविधानसभामा छलफल नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ को बारेमा आज पनि संविधानसभामा छलफल भइरहेको छ । छलफलमा भाग लिने सबै सभासद्ले जस्तोसुकै कठिन परिस्थिति उत्पन्न भए पनि संविधान निर्माणको मूल लक्ष्यबाट विमुख हुन नहुनेमा जोड दिए । सीमाङ्कनको विषयलाई लिएर विभिन्न जिल्लामा जारी विरोध प्रदर्शन र आन्दोलनलाई वार्ताको माध्यमबाट छिटो सम्बोधन गरी सबैको भावना समेटेर समयमा नै संविधान जारी गर्नुपर्ने उनीहरुको भनाइ थियो ।
प्रदेशको सीमाङ्कन गर्दा पहिचान र सामथ्र्यलाई आधार बनाउनुपर्ने, महिला, दलित, मधेसी, थारुलगायत पछाडी पारिएका सबैको अधिकार सुनिश्चित गरिनुपर्ने धारणा राखिरहेका छन् । संविधानसभाको बैठकमा बोल्दै नेपाली काङ्ग्रेसका उपसभासपति रामचन्द्र पौडेलले नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा लिखित संविधान मुलुकले पाओस् भन्ने चाहना व्यक्त गरेका बताउँदै जनचाहनाअनुसार संविधानको मस्यौदा तयार गरिएको स्पष्ट गर्नुभयो । राप्रपा (नेपाल) का सभासद् सुशीलकुमार श्रेष्ठले संविधान मस्यौदा सबै शक्तिको सहमति र सम्झौताको दस्तावेज भनिए पनि मुख्य शक्तिलाई नै बेवास्ता गरिएको गुनासो गर्नुभयो । नेकपा (एमाले)का सभासद् भरतमोहन अधिकारीले संविधान लोकतान्त्रिक भए पनि राज्यको सीमाङ्कन विज्ञहरुको सुझावका आधारमा गरिएको भए समस्या हुँदैनथ्यो भन्नुभयो ।
– सीआईएन