भाद्र ३, २०७२- अखण्ड मध्यपश्चिम, स्वायत्त कर्णाली र थरुहटलगायत परस्पर विपरीत उद्देश्य बोकेर चलिरहेका आन्दोलन बुधबारबाट केही शान्त देखिएको छ । डेढ सातादेखि चलिरहेका आन्दोलनले यसबीच हिंसात्मक रूप लिएका थिए । तर, अवस्था सामान्य हुँदै गएपछि जुम्लामा ४ दिनदेखि जारी कफ्र्यु हटाइएको छ ।
कफ्र्यु बुधबार बिहान ८ बजेबाट हटाइएको हो । नागपञ्चमीलाई स्थानीय पर्वका रूपमा धुमधाम मनाउने चलन छ । जुम्लाबाट पूजाआजा गरी भगवतीको डोली लिएर बाजुरास्थित बडिमालिका मन्दिर जाने परम्परा छ । त्यसैले कफ्र्यु हटाउन दबाब बढेको थियो । राजनीतिक दल र स्थानीय प्रशासनबीच मंगलबार साँझ छलफल भएको थियो । स्थानीय पर्व मनाउन र्याली र प्रदर्शन नगर्ने तर बन्दलाई यथावत् राख्ने र प्रशासनले पनि कफ्र्यु फिर्ता लिने सहमति भएको हो । अघिल्ला दिनमा जुम्लाको आन्दोलनले हिंसात्मक रूप लिएको थियो । गोली र हवाई फायरलगायत दोहोरो झडपमा दर्जनभन्दा बढी घाइते भएका थिए ।
अखण्ड मध्यपश्चिम आन्दोलन सुरुवात भएको सुर्खेतमा पनि प्रदर्शन जारी छ । तर, शान्त र सौम्य । बुधबार अन्तरपार्टी महिला सन्जालको अगुवाइमा मंगलगढी चोकबाट सुरु विरोध प्रदर्शनपछि पिपल चौतारीमा आयोजित सभामा बोल्दै महिला अगुवाले सुर्खेती जनताको भावनाबमोजिम सीमांकन गर्न आग्रह गरेका छन् ।
अन्तरपार्टी महिला सन्जालकी अध्यक्ष मोहनमाया ढकाल अध्यक्षतामा भएको विरोधसभामा शान्ति ढकाल, नन्दा गुरुङ, चम्पा सिंह, सुस्मा केसी, गीता तिमिल्सिना, कृष्णा रावत, सुर्खेत उद्योग वाणिज्य संघ अध्यक्ष प्रकाश अधिकारीलगायतले अखण्ड मध्यपश्चिम सीमांकन गर्न आग्रह गरेका थिए ।
मुगुका आन्दोलनकारीले प्रजिअमार्फत ज्ञापनपत्र बुझाएका छन् । विशेष अधिकारसहितको संघीय कर्णाली प्रदेश घोषणा गर्न उनीहरूले सभामुखलाई पत्र पठाएका हुन् । प्रजिअ शम्भुप्रसाद रेग्मीले ज्ञापनपत्र गृह मन्त्रालयमार्फत सभामुखसमक्ष पुर्याइदिने प्रतिबद्धता जनाए ।
कालिकोट सामान्यतर्फ
लगातारको बन्दले आजित कालिकोटवासीले बुधबार भने सरकारी र गैरसरकारी कार्यालय सञ्चालन भएपछि केही राहत महसुस गरेका छन् । नागरिकता, लेनदेनसम्बन्धी नियमित काम सञ्चालन भएको प्रजिअ प्रदीप श्रेष्ठले बताए । उनका अनुसार सुर्खेत, दैलेख र जुम्लामा गाडी नचले पनि कालिकोटका स्थानीय रुटमा सञ्चालन भएका छन् ।
विशेष अधिकारसहितको विशेष कर्णाली प्रदेश माग गर्दै महिलाले र्याली प्रदर्शन गरेका छन् । अन्तरपार्टी महिला सन्जालको ब्यानरमा आयोजित र्यालीमा मान्म बजारका महिला सहभागी भए ।
यस्तै आन्दोलनकारीले नवौं दिन पनि जाजरकोट ठप्प पारेका छन् । बन्दका कारण जनजीवन कष्टकर बनेको छ । सीमांकनको विरोधमा बुधबार पनि खलंगामा प्रदर्शन गरियो । आन्दोलनकारीले सरकारी कार्यालय, शिक्षण संघसंस्था, यातायात र बजार बन्द गरेका छन् । सल्यान पनि ठप्प छ । एम्बुलेन्सबाहेक कुनै सवारी चल्न सकेनन् ।
बाँकेका विद्यालय खुले
सातादेखि बन्द बाँकेका विद्यालय बुधबार खुलेका छन् । थारू र मधेसवादी दलको अनिश्चितकालीन बन्द जारी रहे पनि विद्यालय खुलेका हुन् । बुधबार नेपालगन्जलगायत बजार क्षेत्रमा चहलपहल बढेको थियो ।
विद्यालयलगायत शैक्षिक संस्था निर्वाध चल्न दिने प्रतिबद्धता थारू र मधेसवादी दलको संयुक्त थरुहट–मधेस संर्घष समितिले गरेको छ । विद्यालयको परिचय खुल्ने सवारीसमेत चल्न दिने निर्णय भएको संघर्ष समिति प्रवक्ता पशुपतिदयाल मिश्रले बताए । साताअघि थारू समुदायले पश्चिम कञ्चनपुरदेखि पूर्व चितवनसम्मका जिल्ला समेटेर ‘थरुहट प्रदेश’ माग गर्दै अनिश्चितकालीन बन्द आहान गरेका थिए । आन्दोलनमा मधेसी दलले साथ दिँदै अबध–थरुहट मधेस प्रदेश संयुक्त माग अघि सारेका छन् ।
विद्यालय खुले पनि नेपालगन्ज र कोहलपुरलगायत जिल्लाका बजार क्षेत्र बन्द छन् । साँझ र राति प्रहरी स्कर्टिङमा सवारी चले पनि दिनमा चल्न सकेका छैनन् । उद्योग–कलकारखाना र व्यापारिक प्रतिष्ठान ठप्प छन् । विज्ञप्तिमार्फत बन्दकर्ताले बिहीबारबाट गैरसरकारी र अर्धसरकारीलगायत कार्यालय पनि पूर्ण बन्द गर्ने जनाएका छन् ।
बर्दियामा थरुहट/थारूवान संघर्ष समितिको बन्द कायमै छ । नवौं दिन सदरमुकाम गुलरिया बजार आंशिक खुल्यो । सवारी साधन नचल्दा स्थानीयलाई सास्ती भएको छ । रात्रिबसलाई प्रहरीले स्कर्टिङ गरेर गन्तव्यतर्फ पठाइरहेको जनाएको छ । मंगलबारदेखि मधेसी मोर्चाले पनि अनिश्चिकालीन बन्द आहान गरेको छ । विश्व हिन्दु महासंघलगायत विभिन्न संघसंस्थाले बुधबार गुलरियामा मोटरसाइकल र्याली निकाले । हिन्दु राष्ट्र माग गर्दै र्यालीले गुलरिया र कालिका बजार परिक्रमा गरेको हो ।
बाँके–बर्दिया सँगै मिसाऊ
प्रदेशको सीमांकन गर्दा भेरी अञ्चलका बाँके र बर्दियालाई अलग राखेपछि आक्रोशित दैलेखवासीको आन्दोलन उत्कर्षमा पुग्न थालेको छ । सीमांकनको खाका सार्वजनिक भएलगत्तै आन्दोलित दैलेखी जुन प्रदेशमा भए पनि बाँके र बर्दियासँगै हुनुपर्ने माग गरेका छन् । दैलेखवासी ११ दिनदेखि शान्तिपूर्ण आन्दोलनमा छन् । दैलेखलाई प्रदेश नम्बर ६ मा राखेर बाँके–बर्दियालाई अलग गरेकामा असन्तुष्ट उनीहरू अखण्ड मध्यपश्चिम नभए भेरी कर्णाली प्रदेशको अडानमा छन् ।
दैलेख उद्योग वाणिज्य संघ अध्यक्ष शान्तिप्रसाद शर्माले आयात निर्यात सन्तुलनमा राख्न बाँके, बर्दियासहितको भेरी–कर्णाली एक प्रदेश घोषणा गर्नुपर्ने बताए । एमाले अध्यक्ष रवीन्द्रराज शर्मा प्रदेशको सीमांकनले सबैभन्दा बढी मध्यपश्चिम क्षेत्र असन्तुलित देखिएको जनाउँछन् । उनले भने, ‘सुदूरपश्चिमसँग भन्दा हाम्रो रहनसहन, संस्कृति, आउजाउ सुर्खेत, बाँके र बर्दियासँग मिल्छ ।’
(एलपी देवकोटा/जुम्ला, मोतीलाल पौडेल/सुर्खेत, राजबहादुर शाही/मुगु, तुलाराम पाण्डे/कालिकोट, भीमबहादुर सिंह/जाजरकोट, राजेन्द्र नाथ/नेपालगन्ज, कमल पन्थी/बर्दिया र विप्लव महर्जन/सल्यान)
Source : http://kantipur.ekantipur.com