काठमाडौँ, २८ साउन । कर्णालीवासीले विशेष अधिकारसहितको कर्णाली प्रदेश सुनिश्चितताको माग गरेका छन् । कर्णाली नागरिक सङ्घर्ष समितिले आज यहाँ पत्रकार सम्मेलन गरी प्रदेश निर्माण गर्दा जनसङ्ख्यालाई मात्र आधार नमानी भूगोल, पछौटेपन, गरिबी र उत्पीडनलाई पनि आधार मान्नुपर्ने जनाएको छ ।
कार्यक्रममा पूर्वसभासद् चन्दबहादुर शाही, राप्रपाका केन्द्रीय सदस्य धनबहादुर बुढा, युवा सङ्घ नेपालका सचिव हस्तबहादुर शाहीलगायतले कर्णालीलाई क्षतिपूर्तिसहितको विशेष प्रदेश निर्माणको प्रत्याभूति पहिलो संविधानसभाकै बेला भएकामे स्मरण गराउनुभयो । कुल नेपालको भूभागको १५ प्रतिशत कर्णाली क्षेत्रले ओगटेको छ ।
मगरात राज्य
मगरात सङ्घर्ष समितिले पनि आज पत्रकार सम्मेलन गरी जातीय पहिचानसहितको मगरात राज्यको माग गरेको छ । नेपाल मगर सङ्घका अध्यक्ष महेन्द्र थापा मगर र महासचिव नवीन रोका मगरले मगरातलाई स्वायत्त घोषणा नगरे आफैँले मगरात घोषणा गरिने चेतावनी दिनुभयो । समितिले शुक्रबाकर प्रधानमन्त्री, सबै राजनीतिक दलका शीर्ष नेतालगायतलाई प्रदेश सीमाङ्कनको विरोध गर्दै पत्र बुझाउने बताइएको छ । रासस