२८ साउन, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले व्यवस्थापिका संसदको बैठकमा बोल्ने क्रममा प्रमुख तीन दलका शीर्षनेताले जनतालाई धम्क्याउने र चुनौति दिने शैली अख्तियार गरेको आरोप लगाएका छन् ।
प्रधानमन्त्री सुशील कोइराला, विपक्षी दल एमाओवादीका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिसकेपछि संसदमा बोल्ने पालो पाएका थापाले भने-जनतालाई धम्क्याउने काम बन्द गर्नुस् ।
थापाले ०१७ सालको भुत खडा गरेर आफ्नो अकर्मन्यतालाई ढाकछोप नगर्न उनले तीन दललाई चुनौति दिए । थापाले भने- ८ वर्षदेखि संविधान बन्न नदिएको ०१७ सालले हो ? राप्रपा नेपालले हो ? विदेशीको मुख ताक्ने तपाईहरुले गर्दा संविधान नबनेको हो ।
उनले संविधान बन्न नदिन उग्रवामन्थी र अति दक्षिणपन्थी एकजुट भएको भनी लगाइएको आरोपको प्रतिवाद गर्दै भने- संविधान बन्न नदिनेहरु हिजो तपाईहरुसँगै थिए, उनीहरुको कुरा हामीलाई थाहा छैन, हामी संविधानको पक्षधर हौं ।
एमाओवादी नेृतत्वप्रति लक्षित गर्दै थापाले आफूहरु आफ्ना एजेण्डा स्थापित गर्न हतियार बोकेर जंगल जाने र हजारौं हजार जनतालाई मार्ने पक्षमा नरहेको बताए ।
थापाले भने-तपाईहरु जस्तो हजारौं हजारको ज्यान लिने र आफ्ना एजेण्डा स्थापित गर्न विदेशी गुप्तचर संस्थासँग साँठगाँठ गरेर परिवर्तन संस्थागत गराउन खोजेका पनि छैनौं ।
कमल थापालाई बोलाएपछि तीन नेता जर्याकजुरुक
संसदको वैठकमा शीर्ष नेताहरुको संवोधनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई मञ्चमा बोलाइएपछि प्रधानमन्त्रीसहित शीर्ष नेताहरु बाहिरिएका छन् । एक अर्काको भाषण ध्यान दिएर सुनेका उनीहरुले चौथो ठूलो दलका अध्यक्षको भाषण सुन्ने धैर्यता भने देखाएनन् ।
बिहीबारको संसद वैठकमा प्रधानमन्त्री सुशील कोइराला, एमाओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओली पालैपालो बोलेका थिए । तीनै जनाले एक अर्काको भाषण चाख मानेर सुने । तर, जब सभामुखले कमल थापालाई बोल्न समय दिए, तीनै जना नेता एकैसाथ जर्याकजुरुक उठेर हिँडे । एमालेका पूर्व अध्यक्ष झलनाथ खनाल पनि सँगै निस्किए ।
तीन नेतालाई २० मिनेट बोल्न समय छुट्याएका सभामुखले थापालाई ११ मिनेट दिएका थिए ।
थापाले निकै चर्को स्वरमा आक्रामक भाषण गरे । उनले भाषण गर्दा राप्रपा नेपालका सभासदहरु पनि जोशिएका थिए । ११ मिनेट कटेपछि सभामुख सुभाष नेम्वाङले ‘माननीय सदस्य..’ भन्दै चार पटक रोक्न खोजे । तर थापाले थप ४ मिनेट भाषण लम्ब्याए ।’