ताप्लेजुङ, २७ साउन । ताप्लेजुङको एक नगरपालिकासहित २३ वटा गाविस पहिरोको उच्च जोखिममा रहेको एक अध्ययन प्रतिवेदनले उल्लेख गरेको छ । गत जेठ २७ र २८ गते जिल्लाका विभिन्न गाविसमा गएको पहिरोपश्चात् जिल्ला भू–संरक्षण कार्यालय ताप्लेजुङ र नेपाल रेडक्रस सोसाइटी शाखा ताप्लेजुङले संयुक्तरुपमा तयार पारेको एक प्रतिवेदनले यस्तो देखाएको हो । जेठ २७ र २८ गते जिल्लाका विभिन्न गाविसमा गएको पहिरोपश्चात् जिल्ला भू–संरक्षण कार्यालय ताप्लेजुङ र नेपाल रेडक्रस सोसाइटी साखा ताप्लेजुङले अध्ययन गरेका थिए ।
फाइल फोटो
फाइल फोटो
पहिरोको उच्च जोखिममा ताप्लेजुङ नगरपालिकासहित याम्फुदिन, मामांखे, सुरुम्खिम, कालीखोला, आंखोप, मेहेले, सिनाम, थुम्वेदिन, चाक्सिवोटे, नाङ्खोल्याङ, हांदेवा, सावादिन, खोक्लिङ, लिवाङ, सावा, फुरुम्वु, लिङ्खिम, ओलाङ्चुङगोला, लेलेप, तापेथोक, इखावु, फूलबारी, निघुरादिन गाविस रहेका छन् । यस्तै, मध्यम जोखिममा हाम्पाङ, थिङ्लावु, लिङ्तेप, थुकिमा, नाल्वु, पापुङ, खेजेनिम, तिरिङ्गे, सिकैचा, डुम्रिसे, आम्वेगुदिन, पेदाङ, लिम्वुदिन, साव्लाखु, र सादेवा गरी १५ वटा गाविस रहेका छन् । बाँकी साँघु, ढुंगेसाघु, चाँगे, फाकुम्वा, सान्थाक्रा, खाम्लुङ, थेचम्वु, फावाखोला, तेल्लोक र खेवाङ गरी १० वटा गाविस न्यून जोखिममा रहेका छन् ।
प्रतिवेदनका अनुसार अधिकांश जमिन भिराला तथा कमजोर भौगोलिक बनावटका हुनु, जमिनको सही उपयोग नहुनु, वन जङ्गलको विनास, अव्यवस्थित बसोबास, बसाइँसराइ तथा खुल्ला चरिचरन, यो वर्ष तुलनात्मक रुपमा वर्षा बढी हुनु जस्ता कारण धेरै गाविस पहिरोको जोखिममा परेका हुन् ।
यस्तै, विगतका २५ वर्षलाई हेर्दा तापेथोक, इखाबु, लिङ्खिम, फुरुम्बु, हाङदेवा, फुङलिङ, आङखोप, याम्फुदिन, लिवाङ, थुम्बेदिन, लिङतेप, चाक्सिबोटे गाविस बढी प्रभावित भएको जनाइएको छ । जोखिम न्यूनीकरण गर्न एकीकृत भूसंरक्षण कार्यक्रम सञ्चालन गर्न, क्षतिग्रस्त स्थानमा तारबार गरी मानिस तथा पशुपक्षीको क्रियाकलाप न्यूनीकरण गर्न र नांगा पाखा, सडक किनारामा वृक्षारोपण गर्न आवश्यक भएको प्रतिवेदनले आँैल्याएको छ ।
यसैगरी, पहिरो र भूक्षय जस्ता प्रकोपमा यहाँको जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने प्रमुख नगदे बाली अलैँचीखेतीको सकारात्मक भूमिका (उत्तिससँग भिरालो स्थानमा लगाइने बहुवर्षीय बाली) छ कि नकारात्मक (भिरालो जमिन र अत्यधिक सिँचाइ) सो समेतको अध्ययन÷अनुसन्धान गर्न आवश्यक रहेको प्रतिवेदनले उल्लेख गरेको छ ।
सो अध्ययन प्रतिवेदन केही दिनअघिनै जिल्ला विपद् व्यवस्थापन समितिलाई बुझाइएको रेडक्रस ताप्लेजुङका सभापति गणेश अधिकारीले जानकारी दिनुभयो । यता जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी डम्बरुप्रसाद निरौलाले जिल्ला विकास समिति र सम्बन्धित गाविस सचिवहरुलाई जोखिम न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम बनाउन र जोखिम न्यूनीकरणसम्बन्धी योजना बनाउन निर्देशन एवम् पत्राचार गरिएको बताए ।
गत जेठ २७ गते राति जिल्लाका पश्चिमी आधा दर्जन गाविसमा गएको पहिरोमा परी ५९ जनाको मृत्यु भएको थियो भने ७० भन्दा बढी परिवार विस्थापित भएका थिए । जिल्लाका अधिकांश गाउँमा पहिरोले कृषकले लगाएको बालीनाली बगाएको थियो । वैशाख १२ मा आएको भूकम्पका कारण थिलथिलो भएको ताप्लेजुङमा पहिरोको जोखिम धेरै भएपछि यहाँका बासिन्दा त्रासमा बस्न बाध्य छन् । रासस