२४ साउन, काठमाडौं । नयाँ संविधान जारी भएपछि राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदायको हुने भएका छन् । राष्ट्रपति पुरुषलाई बनाउने हो भने उपराष्ट्रपति महिला बनाउनुपर्ने छ । त्यस्तै पुरुषलाई उपराष्ट्रपति बनाउने हो भने महिलालाई राष्ट्रपति बनाउनुपर्ने छ ।
त्यस्तै एउटै जातका राष्ट्रपति र उपराष्ट्रपति बन्न नपाउने गरी संविधान बनाइने भएको छ ।
प्रमुख दलहरुबीच शनिबार मध्यरातमा भएको सहमति अनुसार राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदायको रहने व्यवस्था गरिएको सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराईले जानकारी दिए । यसअघि जनतमत संकलनका लागि जनतामा लगिएको संविधानको पहिलो मस्यौदामा यस्तो व्यवस्था थिएन ।
राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल पाँच वर्षको हुनेछ भने ४५ वर्ष पुगेका व्यक्ति यो पदका लागि योग्य हुनेछन् ।
संविधानको संक्रमणकालीन व्यवस्थाअनुसार नयाँ संविधान जारी भएको एक महिनाभित्र नयाँ निर्वाचन हुनेछ । संसदको अधिवेशन नचलेको अवस्थामा भने ७ दिन त्यसका लागि थप हुनेछ ।
संविधानमा संघीय संसद र प्रदेशसभाका सदस्य रहेको निर्वाचक मण्डलले राष्ट्रपति र उपराष्ट्रपति चयन गर्ने व्यवस्था छ । तर, संघीय संसद गठन नभएको अवस्थामा रुपान्तरित संसदले नै राष्ट्रपति र उपराष्ट्रपति चयन गर्न सक्ने व्यवस्था छ ।