नेपालगन्ज । नेपालगन्ज उपमहानगरका स्वतन्त्र उम्मेदवार दिनेश थापामगरले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
सोमबार औपचारिक रुपमा पत्रकार सम्मेलन गररी मेयर पदका स्वतन्त्र उम्मेदवार थापाले आफ्नो चुनावी प्रतिबद्धता सार्वजिनक गरेका हुन् ।
थापाले सार्वजनिक गरेको प्रतिवद्धतापत्रमा सुरुमा नै उनले शिक्षालाई जोड दिएका छन् । उनले सामुदायिक विद्यालय तथा मरदसाको पूर्वआधार स्तर उन्नति गरि शैक्षिक गुणस्तर बृद्धिको लागि विभिन्न कार्यक्रम संचालन, संस्कृत विद्यालय स्थापनाको लागि छुट्टै पहल, मदरसा शिक्षाको गुणस्तरमा सुधार ल्याउनुका साथै अन्य सामुदायिक विद्यालय सरह सुविधा प्रदान गर्ने प्रतिवद्धता जनाएका छन् ।
यसैगरी स्वास्थ्यतर्फ प्रत्येक वडाको स्वास्थ्य कार्यालयमा स्वास्थ्य परिक्षणको लागि प्रयोगशालाको व्यवस्था, नेपाल सरकारद्वारा प्रदान गरिने स्वास्थ्य बिमाको कार्यक्रम प्रभावकारी ढंगले गर्नु गर्न प्रत्येक घरमा स्वयंसेवक परिचालन, अपाङ्ग, दिर्घरोगी तथा बृद्धबृद्धाको लागि प्रत्येक वडाबाट तथ्यांक संकलन गरि विशिष्ट प्रकारको स्वास्थ्य सुविधा घरमै गई उपलब्ध गराउने, प्रत्येक वडाबासीलाई स्वास्थ्य जाँच कार्ड प्रदान गरि नियमित स्वास्थ्य जाँचको व्यवस्था गरिनेलगायत रहेका छन् ।
यसैगरी रोजगार सम्बन्धि प्रतिबद्धतामा बेरोजगार जनशक्तिको तथ्यांक संकलन गरेर त्यसको वर्गीकरण गरि नगरभित्र आवश्यक विभिन्न प्रकारको रिक्त जनशक्तिको पूर्तिका लागि तालिम संचालन, युवा जनशक्तिको विदेश पलायन रोक्न नगरभित्र रोजगारी श्रृजना गरि उक्त जनशक्ति नगर मै प्रयोग गर्ने व्यवस्था लगायत रहेका छन् ।
स्वतन्त्र उम्मेदवार थापाले आफूले यी यावत सार्वजनिक गरिएको प्रतिबद्धता कार्यान्वयन गर्न व्यवस्थापन मात्र गर्नु पर्ने बताए । नेपालगन्जको विकासमा देखिएका कमी कमजोरीलाई औल्याउँदै दीर्घकालीन योजनासहितको उनको ६० बुँदे प्रतिवद्धतापत्रमा ठूला–ठूला परिवर्तनका कुरा भने समावेश देखिदैन ।
थापाले भने, ‘मलाई ठूलो परिवर्तन गर्नु छैन । नेपालगन्जवासीका लागि चाहिने दैनिक सेवाहरुलाई प्रभावकारी रुपमा प्रवाह गर्नु नै हो ।’ उनले सरकारले जनतालाई धेरै सुविधा दिएको तर त्यसको व्यवस्थापन हुन भने नसकेको बताए । उनले भने, ‘सामान्य कुराहरु पनि व्यवस्थापन हुन नसक्दा जनताले दुःख पाएका छन् ।’
निर्वाचन आयोगले सार्वजनिक गरेको आचारसहितालाई पूर्णरुपमा लागू गर्दै थापाले सामान्य रुपमा आफ्नो प्रचार गर्दै आएका छन् । उनी देखाओटी प्रचारले भन्दा वौद्धिक व्यक्तिहरुसँगको भेटघाटले चुनाव जित्न सकिने तर्क गरे ।
नेपालगञ्जबाट मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका थापाको चुनाव चिन्ह आँप रहेको छ ।