विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपालगञ्जमा आज सञ्चालन गरिएको निःशुल्क दन्त शिविरमा पाँच सय बढिले स्वास्थ्य परिक्षण गराएका छन् । विश्व मुख स्वास्थ्य दिवसको पूर्व सन्ध्यामा नेपालगञ्ज उपमहानगरपालिकाको मूल गेट अगाडी आयोजना गरिएको शिविरमा पाँच सय पाँच जनाले दन्त परिक्षण गराएका हुन् ।
शिविरको नेपालगञ्ज उपमहानगरपालिकाका नगरप्रमुख डाक्टर धवल शम्शेर राणाले आफ्नो दाँत परिक्षण गराएर शिविरको उदघाटन गुर्नुभएको हो । से आहा, थिंक माउथ, थिंक हेल्थ भन्ने नाराका साथ नेपालगञ्ज उपमहानगरपालिका तथा नेपाल डेन्टल एसोशिएसन बाँकेको आयोजना तथा गुरुकुल सहकारी संस्थाको समन्वयमा शिविर सञ्चालन गरिएको थियो ।
शिविरमा सर्वसाधारणको दन्त परिक्षण, दाँत माझ्ने तरिका सिकाउनुका साथै ब्रस र मन्जन पनि निःशुल्क प्रदान गरिएको थियो । दाँतमा समस्या देखिएकाहरुलाई नेपालगञ्जस्थित भेरी अस्पताल रिफर गरिएको छ ।
शिविरमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल, एशोसिएसनका अध्यक्ष डाक्टर भावनी न्यौपाने, उपाध्यक्ष डाक्टर अनिल गुप्ता, उपमहानगरपालिका स्वास्थ्य शाखाका कर्मचारी लगायतको उपस्थिति रहेको थियो । शिविरमा नेपालगञ्जमा रहेका सम्पूर्ण डेन्टल क्लिनिकका डाक्टरहरुले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।