हल्ला मात्रै कति गर्ने ? आन्दोलनको सुरुवातमा जुटौं नभए बुटवलमै रमाउन सिकौं !

रामु ओलि
इमेल : ramuoli1989@gmail.com

कुरा सत्यतामा आधारित रहेर सुरु गर्ने हो भने , बाँके र बर्दियाका सामाजिक संजाल फेसबुक प्रयोगकर्ताको केही महिना देखि को टाइमलाइन हेर्ने हो भने लगभग सबैका फेसबुकमा बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिलाउनु पर्छ भन्ने यदाकदा आएका समाचार ,बिचार या कोठा भित्र गरिएका कार्यक्रमका सुचना पक्कै भेटिने छ । अपबाद कै रुपमा कसैको फेसबुक प्रोफाइलमा त्यस्ता सामाग्री भेटिएन भने पनि चिन्ता लिनै पर्ने अवस्था छैन तस्बिर तथा फेसबुक स्टाटस भए पनि पक्कै भेटिने छ ।

 

प्रदेश बिभाजनको समयमा मैफुस रहेको बाँके र बर्दिया हाल कर्णाली प्रदेशमा मिल्नु पर्छ भन्ने कुरामा बाँके र बर्दियाको भावना यतिविघ्न किन उम्लिरहेको छ त ? यो प्रश्न आफैमा मनन योग्यको छ ।

 

मुलतः भौगोलिक रुपमा नेपालगन्ज गर्मीको लागि प्रसिद्ध छ तर स्वभावतः नेपालगन्ज जहिल्यै शान्त बस्यो , चुपचाप बस्यो , कहिल्यै कुर्लिएन। चाहे त्यो मध्यपश्चिम बिश्वबिद्धालय को कुरा होस् या प्रदेश बिभाजनको या प्रदेश राजधानीको नै किन नहोस् बाँके र बर्दिया जहिल्यै शान्त बसे ।

 

तपाई लाई लाग्यो होला बाँके र बर्दिया ती निर्णयमा खुशी थिए , त्यसो कदापि होईन र थिएन । र पनि बाँके र बर्दियाले चक्काजाम गरेन , आन्दोलन गरेन , बन्दहड्ताल गरेन , सडकमा टाएर बालेन , केही ब्यक्तिको ज्यान लिएन त्यसैले यो अर्थमा भन्न सकिन्छ कि बाँके र बर्दिया मैफुस थिए , शान्त थिए तर खुसी भने थिएनन् । त्यही बाँके र बर्दियाको मौनता लाई कमजोरी ठानेर क्रमिक रुपमा बाँके र बर्दियालाई राज्यस्तर बाट उपेक्षा गरिदै आयो । पहिला बिश्वबिद्धालय दिइएन , प्रदेश बिभाजनमा उपयुक्तताको ख्याल गरिएन र अन्तमा प्रदेश राजधानीको कुरामा समेत बाँके र बर्दियाले नै दु:ख मनाउ गर्नुपर्ने स्थिति आयो ।

 

यतिका घटनाक्रम आफ्नै अगाडी घटिसक्दा पनि बाँके र बर्दिया मौनतामै हराइरहेको छ । गुप्तगु गरिरहेको छ । सल्लाह र हल्ला गर्दै छ । र पनि घर देखि निस्केर सडकमा आउन अझै सकेको छैन ।

 

चियापसलमा घन्टौं बिताएर चार जनालाई बाँके र बर्दियाको लागि कर्णाली प्रदेश उपयुक्त छ भनेर गफ दिन सक्छ ,तर बिपि चोकमा आएर उभिन सकिरहेको छैन ।

 

फेसबुकका भित्ताहरुमा , म्यासेन्जरमा अनि नेपालगन्ज ग्यालरीको भित्तामा आफ्नो मनको तिक्तता पोख्न सक्छ , कर्णाली प्रदेश उपयुक्त छ या छैन भन्दै लामो बहस छेडन सक्छ तर जिल्ला प्रशासन र स्थानिय निकायको गेट अगाडि उभिएर मौन बिरोध जनाउन सक्दैन ।

 

यी हुनुमा को जिम्मेवार छ त ? यो प्रश्न पनि सानो पक्कै छैन । किनकी म सडक सम्म जान सक्दैन , त्यसको जिम्मेवार को ? सायद , स्वयं म नै होला । तर त्यो उत्तर संगै छुपेको कुरा, हामी कुनै न कुनै बिचार या पार्टिको दास बनेका छौ। यसैलाई सुन्दर शब्दमा भन्नू पर्दा हामी कुनै बिचार या पार्टिको असल कार्यकर्ता छौ / हौं । यहि पार्टी र असल कार्यकर्ता ले हामी लाई त्यहाँ सम्म जानमा रोकिरहेको छ । किनकी पार्टिको उर्दि बाहेक , पार्टिको कार्यक्रम र पार्टिको आन्दोलन बाहेक अन्य आन्दोलन गर्न र त्यस्ता आन्दोलनमा सरिक हुन हामिले कहिल्यै सिकेकै छैनौं , जानेकै छैनौं । त्यसले त्यस्तो आन्दोलनको सुरुवात हामिले गर्नै सक्दैनौं । कसैले सुरुवात गर्नै खोजे पनि सहयोग हैन खुट्टा तान्छौ किनकी उ ( आन्दोलन / अभियान को सुरुवातकर्ता ) मेरो पार्टिको हुँदै होईन फेरि म किन उसको कार्यक्रममा जाउ या सहयोग गरौं भन्ने भावना बलियो बनेर आउँछ ।
र हामी फेरि फेसबुकमै फर्कन्छौ र लेख्छौ -‘ बाँके र बर्दिया लाई कर्णाली प्रदेशमा मिलाउनु पर्छ।’

 

यो मेरो मात्रै समस्या होइन , तिम्रो या उसको मात्रै समस्या होईन सबैको समस्या नै यहि हो । हामी जनताको कुरा त यस्तै थियो तर दुखको कुरा बाँके र बर्दियाका सभासदहरुकै फेसबुक प्रोफाइल खोलेर हेर्नुस् उनिहरु पनि बाँके र बर्दिया लाई कर्णाली प्रदेशमा मिलाउनु पर्छ भनेरै मात्र लेख्दै छन् , मनको तिक्तता पोखिरहेका छन् । तर आन्दोलन या अभियानको सुरुवात गर्न भने सकिरहेका छैनन् । हाम्रै जनप्रतिनिधि फेसबुकमा दुखेसो मात्रै पोख्दैछन तर आन्दोलनको सुरुवात गर्न सकिरहेका छैनन् । अब आफै भन्नुस्, के ले छेकिरहेको छ आन्दोलन गर्न ? के आन्दोलन गर्न कुनै दिन ,बार या विशेष घडी चाहिने हो र ? मलाइ त लाग्दैन कुनै त्यस्तो दिन बार या विशेष घडिको प्रतीक्षा गर्नुपर्छ ।

 

त्यसो त बाँके र बर्दियाले बोल्दै नबोलेका भने होइनन् तर राजनैतिक स्वार्थ हावी भएकै कारण ती बोलिहरु यदाकदा सुनिएपनी उपलब्धि मुलक कहिले भएनन् । हिजो आज कर्णालिमा मिल्नुपर्ने कुराको हल्ला चर्को रुपले उठ्न थालेपछि नेपाली काँग्रेस बर्दियाका सभापति समेत रहेका प्रतिनिधिसभा सदस्य सञ्जय गौतमले संसदमा बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न औपचारिक प्रक्रिया सुरु गरिएको खुलासा गरेका छन् भने यता नेपालगन्ज उपमहानगरपालिका प्रमुख धवल शमशेर राणाले पनि बेलामौकामा कर्णाली प्रदेशमा गाभिनको निम्ति माहोल तयार गर्ने र आन्दोलनको नेतृत्व लिने बताउने गरेका छन् । तर राजनैतिक मौसम अनुसार बदलिने बाँके र बर्दियाका नेताहरुमा जनताले ठाडै बिश्वास भने गर्ने ठाउँ छैन , त्यसैले तपाईं र म स्वयम हल्ला गर्न छोडेर आन्दोलनमा होमिनुको बिकल्प छैन ।

 
हामिले टेकेको धरातल (गणतन्त्र) ल्याउन पाचौं लाख जनता उतारेको बाँके र बर्दिया आज आफ्नै अस्तित्वको लागि पाँच जना उतार्न सकेको छैन । यो दोष बाँके र बर्दियाको हो या बाँके र बर्दियाका बासिन्दाको हो ? तर दोष जसको नै भए पनि दु:ख बासिन्दाले नै पाउने हो अर्थात तपाई हामी !

 

‘भुक्ने ले टोक्दैन र टोक्नेले भुक्दैन’ कुनै दिन कुराकै सिलसिलामा दाजु संयोग जंग शाहले भनेका कुरा याद आउछ । बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिलाउनुपर्छ भन्ने कुराको हल्ला गर्दै गर्दा दाजुले सधै भन्नुहुन्थ्यो – भाइ गर्नुपर्ने हामिले नै हो र पनि ढिला किन ?
उहाँको छोटो अनि अर्थपूर्ण ती शब्दहरुले आज मलाई त्यो बिपि चोकमा उभिन भन्दै छ । मलाइ त्यहा होमिन प्रेरित गर्दै छ , त्यसैले आज म यो आर्टिकलको लागि कसैबाट प्रेरित भए त उनि संयोग जंग शाह हुन् र उनैको वाणिका उपज हुन् ।

 

त्यसैले त म आशाबादी छु , आफुमा र मेरो सर्कलमा किनकी म जाँदै छु यो अभियानमा, जोडिदै छु यो अभियान लिएर । मैले या हामिले धेरै हल्ला गर्यौ , धेरै फेसबुकका भित्ता भर्यौ । चियापसल र रक्सि भट्टिमा पनि कयौं दिन बातचित गर्यौ । अझै हल्लै मात्र गर्ने हो भने बाँके र बर्दियाले आफ्नो अस्तित्व गुमाउने छ । यात हल्ला मात्रै गरेर बुटवलमै चित्त बुझाउन सक्नु पर्यो कि बाँके र बर्दियाको अस्तित्व अनि पायकताको लागि आवाज उठाउनु पर्यो त्यो छनौटको अधिकार हाम्रै हातमा छ ।

प्रतिक्रिया