मेरो डायरी


मेरो डायरी
यसरी थन्कियो कि
जसमा ढुसी लाग्न थाले
कीरा काट्न थाले
मानौ अस्तित्वहीन बस्तुझै
आलमारीको कुनै कुनाबाट
मलाई नै गिज्याउदै छन ।

न त फाल्न सक्छु
न त धुन हाल्न सक्छु
कथा घुम्छन आँखाभरी
गीत गुञ्जायमान पाखाभरी
ठाउँ नपाएर झै
कोचिदै चियाउँछन गजल मुक्तक सायरी
मेरो पुरानो डायरी ।

कुनै दिन थियो यी डायरीको
काठमाडौंका गल्ली गल्ली डुल्न पाउँथे
ठुलाठुला सङ्गीतकार र गायक गायिकाको हातमा फूल्न पाउथे
कहिले अनामनगर कहिले बबरमहल
त्यो चहलपहल त्यो छलफल
सफल हुने सपना अनि ती आश्वासन
कपि पृष्ठ बाडिय कति त्यसै छाडिय
कति बेचिय मेरा सपनासँगै
कति हराय यथार्थ विपनासँगै ।

धनमा बिक्ने समय रहेछ
नाता र कृपामा टिक्ने जय रहेछ
कला त चिया र कोकोकोलामा साटिन्छ
पहुँच नहुनेले पर्खन्छ आतिन्छ
पाटिन्छ
भनिन्छ यहाँ
अँध्यारोमा हराउँछन ती
जसले सपना साँच्न जान्छन
तर बाँच्न जान्दैनन् ।

रहरहररू कहर भए
सहरहरू जहर भए
गाउँले बोलायो यतै भुलायो
थोरै फूलायो धेरै ओइलायो
सुदूरबाट लक्ष्य अझै दूर
मोफसलबाट सफलता कठिन
थोरै पारिवारिक जिम्मेवारी पूरा गर्दै
थोरै लक्ष्यमा बामे सर्दै
बढ्दैछ अघि एक पात्र
गन्तव्यहीन यात्रा ।

Loading…

प्रतिक्रिया