
नेपालगंज : आज बाँकेमा १५ जनामा थप कोरोना पुष्टि भएको छ। बाँकेका कोभिड १९ फोकल पर्सन मानव नेपालीले दिएको जानकारी अनुसार आज भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ६ जनामा , नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा ४ जनामा र बागेश्वरी डाइग्नोष्टिक सेण्टरमा गरिएको परीक्षणमा ५ जना गरेर १५ जनामा कोरोना पुष्टि भएको हो ।
आज देखिएका ४ महिला र ११ पुरुष गरेर १५ सहित बाँकेमा कोरोना संक्रमणको सङ्ख्या ४ हजार ३ सय ०६ जना पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या बाँके जिल्लाका ४२ जना र बाहिरी जिल्लाका बाँकेमा उपचार गराउदा गराउदै मृत्यु हुनेको सङ्ख्या ७३ जना पुगेको छ ।
एकतातिर बाँकेमा दिन प्रतिदिन कोरोना संक्रमणको सङ्ख्या बढिरहेको छ भने कोरोना भाइरस (कोभिड १९) लाई जितेर घर फर्कनेको संख्या पनि उत्तिकै छ । आज ८ जना घर फर्किए संगै आज सम्म बाँकेमा कोरोना जितेर घर फर्कनेको संख्या ४ हजार १ सय ३४ जना रहेका छन् भने १ सय २७ जना जिल्लाको विभिन्न आइसोलेसन र होम आइसोलेसनमा उपचारार्थ रहेका छन् ।
