बाँकेका उद्योगीहरु सामाजिक सुरक्षा कोषमा सुचिकृत हुन सकारात्मक

नेपालगन्ज : योगदानमा आधारित  सामाजिक सुरक्षा कोषमा बाँकेका उद्योगीहरु  सुचिकृत हुन सकारात्मक  देखिएका छन् ।

सामाजिक सुरक्षा योजना सञ्चालन दोस्रोपटक कार्यविधि संशोधन गरेपछि कोषले आफ्ना कार्यक्रमलाई थप सजिलो तथा खुकुलाे बनाएको छ ।  आज नेपालगन्ज औद्योगिक क्षेत्रमा भएको उद्योगी र सामाजिक सुरक्षा कोषका प्रतिनिधिहरुबिच भएको  छलफल तथा अन्तक्रिर्या कार्यक्रममा उद्योगी व्यवसायीहरु सुचिकृत हुन तयार रहेको बताएका छन् ।

सामाजिक सुरक्षाको विश्वव्यापी आधारभूत मान्यताका साथै रोजगारदाता तथा श्रमिकहरुले उठाउँदै आएका माग, चाहना र आकांक्षालाई सम्बोधन गर्ने उद्देश्यले त्रिपक्षिय छलफल, अन्तरक्रिया र सहकार्यका माध्यमबाट कार्यविधि संशोधन भएको थियोे  ।

मातृत्व सुरक्षा योजनाअन्तर्गत योगदानकर्ताको पत्नी सुत्केरी भएपश्चात ६ हप्ताको उपचार खर्चसमेत पाउने गरी कार्यविधि संशोधन भएको थियोे  । दुर्घटना तथा सुरक्षा योजनाअन्तर्गत अशक्तता वृत्तिको अधिकतम सीमा हटाइएको छ । आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत योगदानकर्ता विदेशी नागरिकको मृत्यु भएमा हकवालाले एकमुष्ठ सात लाख रुपैयाँसम्म पाउने भएका छन् ।

वृद्धभत्ता सुरक्षा योजनाअन्तर्गत जम्मा हुने योगदानकर्ताको आधारभूत पारिश्रमिकको २८.३३ प्रतिशत रकमलाई निवृत्तिभरण योजनामा २० प्रतिशत र अवकाश सुविधा योजनामा ८.३३ प्रतिशत रकम जम्मा हुने व्यवस्था गरिएको छ । निवृत्तभरण योजनामा जम्मा भएको कुल रकमलाई १८० ले भाग गरी मासिक रुपमा निवृत्तभरण दिने व्यवस्था भएकोमा १८० भाजकलाई १६० कायम गरी मासिक निवृत्तभरण रकम अधिक हुने सक्ने गरी व्यवस्था मिलाइएको छ । २०७८ असार मसान्तभित्र योगदान सुरु गर्ने योगदानकर्ताहरूले चाहेमा निवृत्तभरण अन्तर्गतको २० प्रतिशत रकमसमेत अवकाश सुविधा योजनामा जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ ।

अवकाश सुविधा योजनामा जम्मा भएको रकम अवकाश हुँदा वा जागिरबाट अलग हुँदा निकाल्न पाउने तथा जागिरमा हुँदै ८० प्रतिशतसम्म विशेष सापटीको रुपमा योगदानकर्ताले पाउन सक्ने गरी कार्यविधि संशोधन गरिएपछि झनै आकर्षक बढेको छ ।

अवकाश सुविधा योजनाअन्तर्गत नियमित रुपमा ८.३३ प्रतिशत रकम जम्मा गर्ने व्यवस्थाका अतिरिक्त कुनै योगदानकर्ताले स्वेच्छिक रुपमा जम्मा गरेको रकम, अन्य अवकाश कोषबाट हस्तान्तरण भई आएको रकम योगदानकर्ताले चाहेमा न्यूनतम् आधारभूत पारिश्रमिकको तीन गुणाभन्दा बढी निवृत्तभरण योजनामा जम्मा हुने सीमाभन्दा बढीको रकम र ६० वर्ष उमेर पूरा भएका योगदानकर्ताको निवृत्तभरणअन्तर्गतको रकमसमेत अवकाश सुविधा योजनामा जम्मा हुने व्यवस्था गरिएको छ । अहिले कोषबाट लुम्बिनी प्रदेशमा व्यापक रुपमा छलफल तथा अन्तरक्रिया कार्यक्रम  चलाउदै आएको  कोषका निर्देशक कृष्ण अधिकारीले बताउनुभयो । भेटघाटका क्रममा आज नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर, नेपालगन्ज औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका उद्योगका सञ्चालकहरु , होटल व्यवसायी,  ट्रेड युनियनहरुसित भेटघाट गरिएको कोषका बरिस्ठ सहायक निर्देशक केदार ज्ञवालीले बताउनुभयो ।

नेपालगन्जका उद्योगपति कन्हैयालाल बैद्यले सामाजिक सुरक्षा कोष राम्रो भएको तर यसमा आबद्ध भएका श्रमिकहरुलाई कोषको परिचयपत्र देखाएपछि सहुलियत दरमा रासन लगायतको सुविधा दिनुपर्नेमा जोड दिनुभयो । उहाले कोषमा सुचिकृत नभएका उद्योगहरुलाई सरकारले कानुनी दायरामा ल्याउनुपर्ने बताउनुभयो ।

कोषका निर्देशक कृष्ण अधिकारीको नेतृत्वमा केदार ज्ञवाली, सुन्दर पराजुली, चिरञ्जीवी न्यौपाने, श्रीराम गौतमसहित ५ जनाको कोषको टीम लुम्बिनी प्रदेश भिजिटमा आएको निर्देशक अधिकारीले बताउनुभयो । नेपालगन्ज उद्योग व्यवस्थापन कार्यालयका प्राविधिक अधिकृत भोलानाथ भुर्तेलले सहजीकरण गरेको कार्यक्रममा १५ जना  उद्योगीहरु उपस्थिति रहनु भएको थियोे ।

प्रतिक्रिया