पहिरोले गर्दा नारायणगढ -मुग्लिन सडक अवरुद्ध

चितवन — सोमबार बिहानै मुग्लिन सडकको चारकिलो, कालीखोलामा पहिरो खस्दा सवारी आवागमन ठप्प भएको छ ।   जसले गर्दा  संघीय राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने मुख्य सडक बिहान ४ बजेतिर पहिरो गएर अवरुद्ध भएको  हो । 


चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पहिरो ठूलो गएकाले सोमबार दिनभरजसो नै सडक अवरुद्ध हुन सक्ने सम्भावना रहेको बताए । उनले तत्कालका लागि यात्रुहरुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको बताएका  छन् । यो सडकमा दैनिक  हजारौं सङ्ख्यामा गाडी गुड्छन् ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार बिहान ४ बजेतिर पहिरो गएको हो । अझै पनि झरी र पहिरो नथामिएकाले सडक खुलाउन सुरु भइसकेको छैन ।

पहिरो हटाउने औजार–उपकरण तयारी अवस्थामा छन् । तर काम सुरु गर्न गाह्रो छ । बाटो खुल्नेबारे यसै भन्न सक्ने अवस्था रहेन,’ इन्जिनियर खनालले भने ।

असार ३ गते पनि मुग्लिनबाट चार किलो मिटर पश्चिम नारायणगढतर्फ कालीखोलामा  पहिरो खसेको थियो । त्यो बेला पहिरो हटाएर दुईतर्फी गाडी चलाउन ६३ घण्टा लागेको थियो । अहिलेको पहिरो त्योभन्दा पनि ठूलो रहेको सूचना अधिकारी खनालले बताए ।

नारायणगढ–मुग्लिन सडकलाई दुई लेनको बनाउन ठाउँठाउँमा पहाड काटिएको छ । सडक विस्तारको काम सकिए पनि पहाड काटिएको ठाउँमा पहिरो जाने गरेको छ । कालीखोलामा पहिरो नियन्त्रणको काम अझै पूरा भएको छैन ।

Loading…

प्रतिक्रिया