पपुलर मेयरसाबको सरकारी बजेटप्रति कुण्ठा चिन्ताजनक !

नेपालगन्जका मेयरसाब डा धवल शमशेर राणा प्राय: भन्नुहुन्छ सरकारले नेपालगन्जलाई बजेटमा पक्षपात गर्छ, अरु नगरलाई जति बजेट त दिन्न नै, दिएको बजेटमा पनि खोचे थापेर कार्वान्वयनमा बाधा पार्छ ।

उहाँको चिन्ता साच्चिकै हो कि भन्ने जनतालाई लाग्नु स्वभाविकै हो, किनकि ठुलठुला पार्टीका नेताहरूलाई सर्लक्क किनारा लगाएर अति सानो तथा अक्षम पार्टी हो भन्ने जान्दाजान्दै उहाँको व्यक्तिगत योग्यता र क्षमतामा भर परी, विश्वास गरी नेपालगन्जको लागि दाउ लगाएकै हुन । उहालाई शानदार विजेता बनाएकै हुन ।

स्थानीय तह निर्वाचनका ३ बर्षमा उहाँ तथा उहाँको टिमले सडक निर्माण र सरसफाइमा ध्यान पनि दिएको हो, बसपार्क, वाटर पार्क आदि पनि प्राथमिकतामा परेका थिए, तर सामाजिक विकास खासगरी स्वास्थ्य व्यवस्थापनमा उहाँको टिम र उहाँ चुक्नु भएको छ । एकातिर नगरमा आधारभूत स्वास्थ्य सेवा अन्यौलमै छन, अर्कोतिर भेरी अस्पताल जस्तो सुविधा बढाउनु पर्ने अस्पतालमा उहाँको वेवास्थाको चर्चा अहिले चुलिएको छ ।

अहिले खासगरी मेयर डाक्टर धवल शमशेर राणालाई समन्वय कमजोर भएको र अरुले हातेमालो गरेको स्वीकार्न नसक्ने नेताको रुपमा लिन लागिएको छ । एकातिर उहाँ गुमनाम नै रहनुहुन्छ, कदाचित उपस्थित भए पनि अरुको तर्कको विपरीत देखिनुहुन्छ भन्ने गुनासो आउँछ ।

अहिले कोरोनाको त्रास छ, मुलुकभर सन्सारभर भएको महामारी नेपालगन्जमा पनि त्रास नहुने कुरा पनि भएन नै । यस महामारीमा नगरको बजेटले के के नै हुन्छ र पनि । त्यस्तै समस्या देखेर होला जेठको अन्ततिर फ्रिज हुन लागेको बजेट नगर मार्फत भेरी अस्पतालमा उपकरण खरिद गर्न नेपालगन्ज कै संघिय सान्सद मा ईस्तियाक राई द्वारा जुटाईएको सान्सद विकास कोषको रकम जोहो भएको थियोे ।डेढ करोड रुपैयाँको सो बजेट खर्च गर्न संघीय मन्त्रालयको असार ७ गते उपमहा नगरपालिकालाई पत्र पनि आएक‍ो देखियो । तर अहिले  सो पत्रको उपमहानगरद्वारा जानीजानी वेवास्ता गरिएको र बजेट फ्रिज गराएको चर्चा छ । हो होइन भन्नेमा दोहोरी चलेको छ । जे भए पनि नेपालगन्जको लाईफलाईन ठानिएको भेरी अस्पतालमा उपकरण थप्ने प्रयासमा तुसारापात चाहिँ परेको छ ।

मेयरसाबले सो पत्र आउने वित्तिकै सोधखोज गर्नुपर्ने, सो खर्च नभएको रकम खोजी गरेर सांसद र जिससलाई जानकारी गराई सम्भावित योजना बनाउनु पर्ने वा कुन काममा खर्च गर्ने हो  सुझाव दिनु पर्ने थियो, चुक्नु भयो । जनताले त उहाले सो पत्र रद्दीको टोकरीमा त हाल्नु भएन भन्ने शंका गर्न लागेका छन । भेरी अस्पतालमा ध्यान नदिनु, अझ अन्य निकायबाट उपलब्ध श्रोतलाई वेवास्ता गर्नु उहाँको टिमको कमजोरी नै हो ।

जे भयो कमजोरी भयो, सच्याउन जरुरी छ, हालको विषम परिस्थितिमा सबैको हातेमालोमा स्थानीय स्तरमा रहेका अस्पतालहरुमा उपचारका सामाग्री र साधन प्रयाप्त छ छैन भन्ने चासो र अनुगमन उहाँ र उहाँको टिमले गर्नु पर्छ, उहाँको अग्रसरतामा नागरिकले सहजरूपमा स्वास्थ्य उपचार पाउनु पर्छ । नेपालगन्जमा रहेका भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले जनस्वास्थ्यमा ठुलो भुमिका खेलेका छन, निकै दक्षता पुर्वक तथा सहजरूपमा सुत्केरीसेवा दिएका छन । खोप, क्षयरोग, दैवीप्रकोपमा हातेमालो गरेका छन । विशिष्ट स्वास्थ्य सेवामा नागरिकको पहुँच पुगेको छ । अहिले  कोभिड-19 उपचारका लागि पनि कटिबद्ध छन, निर्वाचित जनप्रतिनिधिले सहयोग, हातेमालो र अनुगमन मुल्यांकन गर्न ढिलो नहोस, बाँके बर्दियाका सान्सद, प्रदेस सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले यतातिर गम्भीर ध्यान दिन हार्दिक आग्रह छ ।

Loading…

प्रतिक्रिया