नेपालगन्जको विभिन्न ठाउँहरुमा यसरी सरस्वती पुजा मनाइयो

नेपालगन्ज : माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदैछ । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा-आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् । सरस्वतीको पूजा गर्नाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ ।
आजको दिन नेपालगन्जको रामलिला मन्दिरमा रहेको  सरस्वती मन्दिर , महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज , जिभिएन स्कुल, मंगल प्रसाद मावि, जेएस स्कुल,  लगायतका सम्पूर्ण विद्यालयहरुमा  आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लागेको छ ।

आजको दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस वर्ष भने शुक्र अस्त भएकाले विवाह, व्रतबन्ध जस्ता कर्म यस पर्वमा गरिँदैन ।

आजैको दिन अभिभावकहरुले आफ्ना बालबालिकालाई विद्यालय भर्ना गरिदिएर अक्षरआरम्भ गराउने र नाक-कान छेडिदिने पनि गर्ने गर्दछन् ।


प्रतिक्रिया