
नक्कली फेसबुक पेज बनाएर साइबर ब्युरोको बदनाम गर्ने प्रज्वल पोखरेललाई प्रहरीले पक्राउ गरेको छ । साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाएर विभिन्न व्यक्तिसँग कुराकानी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको बताएको छ । कपिलवस्तु वाणगंगा नगरपालिका वडा नम्बर २ घर भई रूपन्देही सैनामैना नगरपालिका वडा नम्बर ६ बसोबास गर्दै आएका १८ वर्षीय प्रज्वल पोख्रेललाई प्रहरीले पक्राउ गरेको हो ।
पोखरेलले फेसबुक पेज खोलेर पेजको म्यासेन्जरबाट कुराकानी गर्ने गरेका थिए । उनमाथि प्रहरीको छबिलाई बदनाम गर्ने र संगठनप्रति आस्थावान आम नागरिकहरूलाई भ्रमित पारी आपराधिक कार्य गर्ने गरेको आरोप लगाइएको छ ।
उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले दिएको पक्राउ अनुमतिपछि पक्राउ गरिएको ब्युरोका एसएसपी नविन्द अर्यालले बताए । पोखरेलले प्रहरीको नक्कली पेज बनाएर आर्थिक लाभसमेत लिन खोजेको देखिएको अर्यालको भनाइ छ ।