डिनद्वारा उद्घाटन गरेको अभ्यास अदालत कक्षको विद्यार्थी संगठनहरुद्वारा विज्ञप्ति निकालेर विरोध


नेपालगन्ज : त्रिभुवन विश्वविद्यालय अन्तर्गतको महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा पूर्व शहरी विकास मन्त्री तथा बाँके क्षेत्र नं. २ का संघीय सांसद मोहम्मद इश्तीयाक राईले सांसद विकास कोषबाट उपलब्ध गराएको रकमबाट कानुन संकायमा अध्ययनरत विद्यार्थीहरुका लागि आवश्यक पर्ने अभ्यास अदालत कक्षको आज त्रि.वि.वि.  कानुन संकायका डिन प्रा.डा. बिजय सिंह सिजापतीले एक ओैपचारिक कार्यक्रम मार्फत उद्घाटन गर्दागर्दै सोही क्याम्पसमा रहेका अनेरास्ववियु, ने.बि.सं. लगाएतका  विद्यार्थी संगठनहरुले प्रेस विज्ञप्ति निकालेर विरोध गरेका छन् ।

पूर्व मन्त्री राईले विद्यार्थीहरु , कानुन संकायका प्राध्यापक र निवर्तमान क्याम्पस प्रमुखको पहलमा उपलब्ध गराएको रु. १० लाख रुपैयाँ रकम बराबरको रकमको अभ्यास अदालत बनाउने निर्णयअनुसार क्याम्पसमा आंशिक प्राध्यापककाे रुपमा   कानुन विषय अध्यापन गराउनुहुने खड्ग बहादुर खड्काको अध्यक्षतामा कानुन संकायमा अध्ययनरत विद्यार्थीहरु समेतको सहभागितामा अभ्यास अदालत कक्ष निर्माण उपभोक्ता समिति गठन गरिएको थियोे ।

क्याम्पस परिसर भित्र रहेको नयाँ भवनको दोस्रो तलामा रहेको हललाई अभ्यास अदालत कक्ष बनाउने निर्णय निवर्तमान क्याम्पस प्रुमुख गणेश रेग्मीको पालामा भएको थियोे । गत आर्थिक वर्षमा उपलब्ध गराएको रकमबाट बनाएको उक्त कक्षको  कोभिड १९ का कारण उद्घाटन गर्नमा ढिलाइ भएको बताइएको छ । उक्त कक्षमा विद्यार्थीहरुलाई बहस गर्न सिकाउने, अभियुक्तलाई बयान गर्नका लागि कठघरा, न्यायाधीश बस्ने काठकाे रोष्टम बनाउनुका साथै कक्षामा मार्वल, पंखा लगायतका सामाग्री जोडिएको उपभोक्त समितिका अध्यक्ष खड्काले बताउनुभयो ।

उक्त उद्घाटन सत्रमा बोल्दै कानुन संकायका बिभागीय प्रमुख लक्ष्मण पराजुलीले यस क्याम्पसमा लामो समयसम्म कानुनको अध्यापन हुन नसकेको अवस्था २०७४/०७७ व्याचका विद्यार्थीहरुको सक्रियतामा पढाइ सुरु भएको, विद्यार्थी सङ्ख्या धेरै भएपनि कानुन अध्यापन गराउने शिक्षकहरूको दरबन्दी कम भएको, अभ्यास अदालत कक्षले विद्यार्थीहरुको अभ्यासमा सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा बोल्दै निवर्तमान क्याम्पस प्रमुख गणेश रेग्मीले नेपालमा बिरलै मात्रामा कानुन पढाइ हुने क्याम्पस रहेका र त्यसमा पनि महेन्द्र बहुमुखी क्याम्पसमा कानुन लामो समयपछि विद्यार्थीहरुको भौतिक उपस्थितिमा पढाइ  सुरु भएकोमा खुसी व्यक्त गर्दै आफ्नो कार्यकालमा अरु सहायक क्याम्पस  प्रमुखहरुलाई समेत सहभागी गराएर त्रिविमा र राजनीति दलहरूलाई समेत पटकपटक क्याम्पस स्तरोन्नतिका लागि डेलिगेशन गएको स्मरण गर्नुभएको थियो ।

उहाँले बोल्ने क्रममा पूर्व शहरी विकास मन्त्री माननीय मोहम्मद इश्तीयाक राईले यस क्याम्पस विकासका लागि गरेको सहयोग उल्लेखनीय रहेको बताउदै अरु सहयोग गर्नपनि आग्रह गर्नुभयो । त्यसैगरी कानुनका प्राध्यापक निराजन ज्ञवाली, सहायक क्याम्पस प्रमुख डम्बरबहादुर पुनले पनि कानुन संकायमा सक्रिय रहेका विद्यार्थीहरु र ७५ वर्षका वृद्ध विद्यार्थी समेत नियमित क्याम्पसमा आएर पढेको देख्दा खुसी लागेको बताउनुभयो । विद्यार्थीहरुमा जोश जागर छ, यस क्याम्पसमा  कानुनमा स्नातकोत्तर तहको पढाइ हुने वातावरण सिर्जना गरिदिनु हुन डिनलाई अनुरोध समेत गर्नुभएको थियोे । स्नातकोत्तर तह पढाउन भौतिक संरचनाको केही अभाव नहुने र प्राध्यापकहरु र मान्यता दिन सबै वक्ताहरूले अनुरोध गर्नु भएको थियोे ।

कार्यक्रमका प्रमुख अतिथि तथा त्रिविविका कानुन संकायका डिन सिजापतिले आफू पनि यसै क्षेत्रको भएको हुदा यस क्याम्पसप्रति अति माया छ मैले देशै भरिका कानुनका क्याम्पसलाई हेर्नुपर्ने हुन्छ मलाई याद गराउदै गर्नुहोला मैले विश्वविद्यालयबाट गर्न सक्ने सहयोगमा कुनै कसुर बाकी नराख्ने बताउनुभयो । अब विश्वविद्यालयले कानुन संकाय अध्यापन गराउने ३५ जना भन्दा बढी प्राध्यापकहरुको विज्ञापन गर्न लागेको र यस क्याम्पसलाई चाहिने जनशक्ति उपलब्ध गराउन विश्वविद्यालय तयार रहेको बताउनुभयो ।

उक्त कार्यक्रममा जनता समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दीन राईले बोल्दै कानुन संकायको हाल उपलब्ध गराएको रकमले अधुरो रहेको अभ्यास अदालत कक्ष निर्माणलाई  सम्पन्न गर्न सामाग्री किन्न  थप रकम दिन पार्टी तयार रहेको बताउनुभयो ।

विद्यार्थी संगठनहरुले रकम जहाँ र जसरी आए पनी क्याम्पस हाताभित्र हुने हरेक क्रियाकलापमा विद्यार्थी संगठनहरुलाई पनि जानकारी गराउनुपर्ने र उनीहरुबाट पनि प्रतिनिधित्व गराउनुकाे साटाे जानकारी नै नदिइ अभ्यास अदालत बनाउने, उद्घाटन कार्यक्रम गर्ने गरेकोमा आपत्ति रहेको जनाएका छन् । यसरी जानकारी नगराउँदा उक्त रकमको सही सदुपयोग नभएको भनि सम्पूर्ण खर्चको सत्य तथ्य हिसाब सार्वजनिक गर्न माग गरेर संयुक्त रूपमा विज्ञप्ति निकालेर विरोध गरेका छन् । 

बिहान उक्त अभ्यास अदालतको उद्घाटन गर्ने बेलामा विद्यार्थी संगठनका नेता तथा विद्यार्थी गएर केही बेर होहल्ला समेत गरेका थिए । उता उपभोक्ता समितिका अध्यक्ष लगायतका अन्य सदस्यहरुलाई सोध्दा हामीले कहि कतै रकम हिनामिना नगरेको र सम्पूर्ण हिसाबकिताब क्याम्पस प्रशासनलाई यथासक्य चाँडै बुझाउने बताएका छन् ।

कार्यक्रममा स्वागत मन्तव्य कानुन संकायमा अध्ययनरत विद्यार्थी अम्बिका काफ्लेले दिनु भएको थियोे भने कार्यक्रम सञ्चालन विद्यार्थी नेता तथा कानुनका विद्यार्थी टेकेन्द्र मल्लले गर्नुभएको थियोे ।

प्रतिक्रिया