ठेकेदारको लापरबाहीले समयमै किसानले मल पाएनन् : मन्त्री भुसाल

काठमाडौं – कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले ठेकदारहरुको लापरबाहीले  नै रसायनिक मल अभावको मुख्य कारण भएको बताएका छन् । आज प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सांसदहरुको प्रश्नको जवाफ दिंदै मन्त्री भुसालले उक्त कुरा बताएका हुन् ।

कोरोनाका कारण मल ल्याउन ढिलाइ भएको भन्नु उचित हुँदैन,’ मन्त्री भुसालले भने, साउन महिनाभित्र नै मल ल्याएर वितरण गरिसक्ने योजनाअनुसार काम अगाडि बढेको भएपनि ठेकेदारहरुले बदमासी गरेका कारण ढिलाइ भएको उनले बताए ।

विगतमा ढिला टेण्डर हुँदा समस्या हुने गरेकोमा यो वर्ष समयमै टेण्डर आह्वान गरी प्रकृया अगाडि बढाउँदा पनि ठेकेदारहरुकै कारण समस्या उत्पन्न भएको मन्त्री भुसालको  भनाइ थियो ।

टेण्डर गरेर मल आयात गर्न दुई तीन महिनाको समय दिँदा ठेकदार सम्झौता गर्न नआएको, सम्झौता गरेपछि एलसी गर्न नआएको तथा एलसी गरेपछि त्यो पनि परिवर्तन गर्नुपरेको मन्त्री भुसालले बताए ।

‘असार र साउनभित्र नै ७० हजार मेटि्रक टन युरिया मल आएर वितरण गर्नुपर्ने थियो, पर्याप्त समय दिएका थियौँ,’ मन्त्री भुसालले भने । साल्ट्र ट्रेडिङले साउन ४ भित्र नै ल्याएर वितरण भइरहँदा ठेकदारले कोरोनाका कारण समस्या भएको भन्नु अनुचित तर्क भएको उनको भनाइ थियो ।

कृषि सामग्री कम्पनीले सम्झौता अवधिमा रसायनिक मल नल्याएको भन्दै दुई सप्लायर्सलाई कारबाही गरेको थियो । कृषि सामग्री कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचललाई सोमबार पत्र पठाउँदै शैलुङ इन्टरप्राइजेट र होनिको मल्टिपललाई कालोसूचीमा राख्न यसै साता सिफारिस गरेको थियो ।

दुई सप्लायर्सले गत आर्थिक वर्ष २०७६/०७७ का लागि आहृवान भएको अन्तर्राष्ट्रिय बोलपत्रअनुसार २५-२५ हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने ठेक्का पाएका थिए ।

प्रतिक्रिया