
इश्वर ढकाल
स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिकाले स्थानीय पाठ्यक्रम र पाठ्पुस्तक निर्माणमा जुट्ने भएको छ ।
भीरकोट नगरपालिका, वालिङ नगरपालिका र फेदीखोला गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक निर्माणको काम अगाडि बढाएकै अवस्थामा कालीगण्डकी गाउँपालिका पनि यस अभियानमा जुटेको हो ।
कालीगण्डकी गाउँपालिकाको आयोजना र साभ नेपालको सहजीकरणमा आइतबार पाठ्यक्रम निर्माण सम्बन्धी ३ दिने कार्यशालाको उद्घाटन गरिएको छ ।
कार्यशालामा गाउँपालिका प्रमुख खिमबहादुर थापाले स्थानीय पाठ्यक्रम निर्माणका लागि आफूहरुले सबै प्रयास गर्ने बताए । उनले भने, ‘हामीले कालीगण्डकीको वास्तविक तस्बिर झल्कने गरी स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गर्ने छौं । यसले कालीगण्डकीको भुबनोट, संस्कृति, पेसा, व्यवसाय, पर्यटन, स्थानीय खेलकूद लगायतका विभिन्न विषयलाई उजागर गर्ने छ ।’
त्यस्तै कार्यक्रममा तुलसी प्रभासले कालीगण्डकीको माटोको गन्ध आउने गरी पाठ्यक्रम निर्माण गरिनुपर्ने धारणा व्यक्त गरे । पाठ्यक्रमविद प्राध्यापक ध्रुव खनालले स्थानीय पाठ्यक्रमका नीति, मार्गनिर्देशन अनुसारको ढाँचामा कालीगण्डकीको मौलिकता झल्कने गरी पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण गरिनुपर्ने विचार राखे । प्राध्यापक गिरिराज उपाध्यायले राष्ट्रिय पाठ्यक्रमले पूरा गर्न नसकेका खाडलहरु स्थानीय पाठ्यक्रमले पूरा गर्नुपर्ने धारणा व्यक्त गरे ।