एम बि बि एस परीक्षा दिन बञ्चित गराउने कलेजलाई कारबाही गर्न नेविसंघको माग

नेशनल मेडिकल कलेज विरगञ्जले अतिरिक्त शूल्क नतिरेको भन्दै दुईजना विद्यार्थीलाई एमबिबिएस परीक्षा दिनबाट बञ्चित गरेको घटनाप्रति नेपाल विद्यार्थी संघले कलेजलाई कारबाही गर्न माग गरेको छ ।

नेविसंघका अध्यक्ष राजिव ढुंगानाले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै रामजी र पंकज दुवै जनालाई तत्काल पुनः परीक्षाको व्यवस्था मिलाउन त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थान डिनको कार्यालयसँग माग समेत गरेका छन् ।

सरकारी छात्रावृत्तिमा अध्ययनरत रामजी राम र पंकज रामलाई नियम विपरीतको शूल्क नतिरेको भन्दै परीक्षाबाट वञ्चित गरेर विद्यार्थीको भविष्यमाथि नै खेलवाड गरेको भन्दै नेविसंघले कलेज र कलेजका सञ्चालकलाई हदैसम्मको कारबाही गर्न माग गरेको हो ।

शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोग र विश्व विद्यालय अनुदान आयोगका पदाधिकारीले समेत आफ्नो जिम्मेवारी पूरा नगरेको देखिएका कारण आवश्यक छानविन गरी सम्बन्धित व्यक्तिलाई कारबाही गर्नुपर्ने महामन्त्री दीपक भट्टराईले बताए ।

कलेजले तोकेको अतिरिक्त शुल्क नतिरेको भन्दै कलेजले दुवैजनालाई विश्वविद्यालयको परीक्षा दिनबाट बञ्चित गरेको थियो ।

प्रतिक्रिया