एउटी छोरीले लेखिन मृतक बुबालाई मार्मिक सन्देश


मेरो आदरणीय बुबाले हामीलाई यस धर्तीमा छोडेर गएको पनि आज ४५ औँ दिन पुग्यो । जीवनमा उकाली ओराली सुख दु:खमा साथ र माया ममता गर्नुहुने बुबालाई गुमाउदा अझैपनि आफुलाई सम्हाल्न सकिरहेको छैन । रोदन र पिडाको बिचबाट स्वर्गिय बुबा प्रति संम्झनाका दुई शब्द लेख्ने जमर्को गरिरहेको छु । दिनरात सम्झीरहन्छु तर मलाई थाहा छ हजुरलाई पुन: बुबा भनेर पाउन सक्दिन, हजुर बिना तड्पिरहेको छु ।

बुबा ठाकुर प्रसाद खनाल र आमा हीरा खनालको कोखबाट  २००८ साल फाल्गुण १४ गते अर्घाखाँची जिल्लाको मालारानीमा जन्मनु भएको थियो । तिन दाजु भाई र चार दिदी बहिनीको कान्छो भाइ हुनुहुन्थ्यो । बुबा स्वर्गिय धर्मराज खनालको २०२४ सालमा आमा निर्मला खनाल संग बिबाह भए पश्चाुत हामी पाँच दिदी बहिनी र दुई दाजुभाईको सुन्दर परिवार थियो । यो परिवारको सबैभन्दा अग्रज एवंम नेतृत्वदायी भूमिकामा रहनुभएका हाम्रो बुबा सबैभन्दा पहिले हामिलाई छोडि जानु भएको छ ।

यो समयमा हाम्रो परिवार असाध्यै पिडा र अपुन्य क्षतीबाट गुज्रीरहेको छ । बुबाले सानो छदाँ जन्मेकै गाउँमा प्राथमिक शिक्षा हासिल गर्नुभयो भने २०२५ सालमा पाल्पा जिल्लादेखि एस.एल.सी. पास गर्नुभई २०२६ साल देखि अर्घाखाँची पिपलनेटाको गाउँको स्कुलमा स्थायी शिक्षक भई पढाउने गर्नुभयो । त्यतिबेला आफ्नो ठुलो दाजु जिब नारायण खनाल पन्चायतको तर्फबाट प्रधान पन्च हुनुहन्थ्यो भने माईलो बुबा धनेश्वर खनाल जिल्ला सभापति हुनुहुन्थ्यो । आफ्नै दाजु जिब नारायण खनालको र धनेश्वर खनालको काम प्रति गाउँ घरका मानिसहरुमा गरेको व्यवहार प्रति बिरोध गर्नुभयो । त्यसपछि परिवार बिचको सम्बन्ध बिग्रिएको थियो ।

बुबाले बिरोध गर्दा अन्यायमा परेका मानिसहरुले साथ र सहयोग गर्दै आए । बुबाले नौ बर्षको शिक्षक पेशालाई छाडेर आफ्नो ठुलो दाई जिब नारायण खनालको बिरुद्ध प्रधानपन्चको उम्मेद्वार दिनुभयो । धेरै पटकसम्म चुनाव जितेर प्रधानपन्च बन्नु भएका दाजु जिब नारायण खनालको बिरुद्धमा चुनाब लड्न निकै चुनौतिको सामना गर्नु थियो । तरपनि जनता बुबाको पक्षमा उभिए र बुबाले प्रधानपन्चको चुनावमा जित्नुभयो । उहाँको ५ बर्ष प्रधान कार्यकाल निकै सम्मानजनक र बिकास निर्माणको कामकाजमा बित्यो ।
उहाँको कार्यकाल संगै पन्चायतको पनि अन्त्य भयो ।  त्यसपछी २०४७ सालमा दाङ तुलसिपुरमा बसाईसराई गरी व्यावसाय सुरु गर्नुभयो र छोरा छोरीको पढाईलेखाईमा ध्यान दिनुभयो । छोरा छोरीको पढाईलेखाई र व्यावसायलाई थप सहयोग पुगोस भनेर २०५४ सालमा काठमाण्डौमा बसाईसराई गर्नुभयो ।

अर्घाखाँची जिल्लामा २००८ सालमा जन्मनु भएका मेरो ‍बुबाको २०७७ साल कार्तिक २४ गते साँझ काठमाण्डौमा स्वर्गवास भयो । बुबा अन्यायको बिरुद्ध बिद्रोह गर्ने बिद्रोही स्वभाबको हुनुहुन्थ्यो ।
अन्यायको बिरुद्धमा लड्ने र कम्युनिष्ट पार्टी प्रति झुकाव राखि कम्युनिष्ट नै भई बित्नुभयो । बुबाको ६९ बर्षको जिवन यात्राबाट हामि छोराछोरी र समाजले निकै महत्वपुर्ण शिक्षा लिन सकिन्छ ।
हाम्रो बुबाबाट लगातार चार छोरीको जन्म भयो तर परिवारले अर्को बिबाह गर्न निकै दवाब दिएतापनि  बुबाले अर्को बिबाह गर्नु भएन । यसले सामन्ति संस्कृतिको बिरुद्ध एकनिष्ट बैबाहिक संस्कृतिको पक्षमा उभिनु भयो । अर्को कुरा छोरा र छोरी भनि छुट्याई कुनै भेदभाव नगरी मायादिने बुबा हुनुहुन्थ्यो । लगातार चार छोरीहरु जन्मेपछि बुबाले भन्नुहुन्थ्यो यि चार छोरी नै मेरा छोराहरु हुन । त्यस्तै बाचुन्जेल सम्म पनि बुबाले जे भन्नु हुन्थ्यो त्यस्तै व्यबहार गर्नु भयो ।

बुबाको सम्झनामा नेपालगंजमा वातावरण मिलाएर सबै भाई बहिनी र परिवार मिलेर मृत्युपछि संस्कार गर्ने स्थल निर्माण गर्ने सोच बनाएका छौ । किनकि भोलि शहरीकरण हुदैजाने र कोठा भाडामा लिई तथा अस्थाई रुपमा बसोबास गर्नेहरुलाई टेवा पुगोस भन्ने परिवारका तर्फबाट बुबालाई सधै सम्झने स्थल बनाउन सकियोस भन्ने सोचमा छौ भने अर्घाखाँचीको मालारानी स्कुलमा समेत  बुबाको १ बर्षको बार्षिक पुण्य तिथिमा अक्षयकोष स्थापना गर्ने संकल्प समेत गरेका छौ । सकभर हाम्रो परिवारको अग्रजको सम्झना र जनताले सामाजिक सेवा प्राप्त गरुन भन्ने हो ।
बुबाको मृत्यु पश्वात साथ सहयोग गर्ने मेरो मामाघरको परिवार, ईष्टमित्र, पार्टिका व्यक्तित्व तथा साथिभाईहरु प्रति हार्दिक आभार व्यक्त गर्दछु । बुबा प्रति हार्दिक श्रदाञ्जली प्रकट गदर्छु ।  

प्रतिक्रिया